काठमाडौं । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुने बताएका छन् ।
बिहीबार नेपाल तामाङ घेदुङको आयोजनामा सिन्धुलीको मरिणमा सञ्चालित ३ दिने तामाङ मातृभाषा शिक्षक पुनर्ताजगी तालिमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण एवम् सम्वर्द्धन हुने बताएका हुन् ।
उनले बागमती प्रदेश सरकारले पहिलोपटक ऐन बनाएर तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याउन लागेको भन्दै प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण गरिने बताए ।
उनले बागमती प्रदेश सरकारले यही वैशाख २४ गते काठमाडौंको वसन्तपुरमा सार्वजनिक सभाको आयोजना गरी प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने तयारी रहेको जानकारी दिए ।
मन्त्री श्रेष्ठले वैशाख २४ गतेदेखि नै बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयलगायत सबै मातहतका कार्यालयहरूमा साइनबोर्ड, लेटर हेड नेपाली, तामाङ र नेपाल गरी ३ भाषा ३ वटा लिपिमा लेखिने बताए । उनले बागमती प्रदेश सरकारको सो निर्णय स्थानीय तहलाई पनि कार्यान्वयन गराउन निर्देशन दिइने बताए ।
मन्त्री श्रेष्ठले तुरुन्तै नियमावली बनाएर यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विज्ञ समूह गठन गर्ने बताए । उनले राष्ट्रभाषा विकास प्रतिष्ठान गठन गर्ने पनि बताए ।
त्यस्तै भाषा अनुवादहरूको व्यवस्था गरी सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई तामाङ र नेपाल भाषामा सेवा उपलब्ध गराउने तथा सरकारी कामकाजको भाषामा दस्तावेजीकरण र अभिलेखिकरण गर्ने पनि उनले जानकारी दिए ।