काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दैनिक ४ सय मेगावाट हाराहारीमा विद्युत् भारत निर्यात सुरु गरेको छ । वर्षा यामसँगै खोला तथा नदीहरूमा पानीको बहाव बढेर विद्युत् उत्पादन बढेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको प्राधिकरणले जानकारी दिएको छ ।
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् १४ जेठ रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा बिक्री सुरु गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन बृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा ४ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको जानकारी दिए ।
‘आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजार देखि एक हजार दुई सय मेगावाट विद्युत् प्रतिश्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको छ,' घिसिङले भने ।
हिउँदमा १५ अर्बको विद्युत् आयात
विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेको छ । सुख्खायाम सुरु भएसँगै विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट विद्युत् आयात गरिएको हो । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ ।
प्राधिकरणले गत वर्षको जेठदेखि हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।
प्राधिकरणले चालु आर्थिक वर्षमा निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरेको हो । यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो ।
आयात गरिएको विद्युतको मूल्य निर्यात गरिएको भन्दा सस्तो रहेको प्राधिकरणले जानकारी दिएको छ । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा रहेको प्राधिकरणले जनाएको छ ।