काठमाडौं । सामान्यतया राति सुतेको बेलामा सपना देख्नु सामान्य हो । धेरैले सपना देख्ने गरेका छन् । तर, त्यसमध्ये कतिपय सपनाहरू हामी उठ्नासाथ भुल्दछौँ भने कतिपय भने सम्झनामा रहीरहन्छन् ।
हामीलाई सपनाको अर्थ र त्यसले पार्ने प्रभावबारे जान्ने इच्छा पनि हुन्छ । र, सपनाहरूले केही कुराको संकेत लुकेको हुन्छ भन्ने मान्यता पनि रहीआएको छ ।
कतिपय सपनाले सुखद र कतिपयले नराम्रको कुराको संकेत गर्छन् भन्ने मान्यता पाइन्छ । तर, सपनाले कुनै न कुनै कुराको संकेत गरेको हुन्छ भन्ने धेरैलाई लाग्छ । आज हामी त्यसैमध्येका केही सपनाको बारेमा चर्चा गर्नेछौँ ।
१. सपनामा धेरै पानी परेको देख्नुलाई शुभ मानिन्छ । यो सपनाले जीवनमा आर्थिक समस्या छिट्टै समाधान हुने र समृद्धितिर अग्रसर हुने संकेत गरेको मान्यता छ । यसले आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिने र त्यसले जीवनमा आयस्रोत बढाउने पनि मान्यता छ ।
२. सपनामा सेतो हात्ती देख्नुलाई पनि शुभ मानिन्छ । यस्तो सपना देखेमा छिट्टै आर्थिक लाभ हुने संकेतका रूपमा लिइन्छ । यस्तो सपनाले भाग्योदयको पनि संकेत गरेको हुन्छ भन्ने मान्यता छ ।
३. सपनामा रुखमा चढेको वा उचाइमा पुगेको देख्नु पनि शुभ मानिने कतिपयको बुझाइ छ । यस्तो सपनाले कार्यक्षेत्रमा पदोन्नति हुन लागेको संकेत गर्ने बताइन्छ । त्यस्तै व्यापार गर्नेहरूका लागि भने यस्तो सपनाले आम्दानी वृद्धि हुने संकेत गर्ने बताइन्छ ।
४. त्यस्तै सपनामा कमिला देख्नु पनि शुभ मानिन्छ । यो सपनाले आगामी दिनमा सबै काम सफल हुने संकेत गर्ने मान्यता छ । यस्तो सपना देखेमा लामो समयदेखि रोकिएको कुनै काम पूरा हुने र कतै अड्किएको पैसा छिट्टै फिर्ता हुने मान्यता छ ।
५. सपनामा मन्दिर देख्नुलाई पनि शुभ संकेत मानिन्छ । सपनामा मन्दिर देख्नु भनेको आर्थिक समस्याबाट मुक्ति र जीवनमा समृद्धिको संकेतको रूपमा मानिन्छ ।