ललितपुर । काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसल विहान ९ बजेसम्म खोल्न प्रशासनले अनुमती दिएको छ ।
बिहान थोरै समय खाद्यान्न तथा तरकारी पसल खोल्दा अत्याधिक भिड हुन जाने तथा दिनभर पनि किनमेलमा निस्कने हुँदा त्यसले संक्रमणको खतरा बढेको भन्दै काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लामा एक रुपता ल्याउन ती जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा ९ बजेसम्म खोल्न पाउने नियम बनाइ दिएका हुन् ।
काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
‘उपत्यकावासीको समस्या र कोरोना जोखिमलाई मध्यनजर गर्दै ९ बजेसम्म तरकारी खाद्यान्न पसल खोल्न दिने निर्णय भएको हो’, उनले भनिन्, यसअघि स्थानीय तहपिच्छे आआफ्नै समय थिए, एकरुपता ल्याउन हामीले यो निर्णय गर्यौँ ।’
यसअघि तीनै जिल्लाका फरक फरक स्थानीयतहले फरक फरक समयसम्म पसल खोल्न पाउने समय तोकेका थिए । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो । उनकाअनुसार औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसलभने जुनसुकै समयमा निर्वाद रुपमा चलाउन सकिन्छ ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी भएको निषेधाज्ञाको आइतबार चार दिन पुगेको छ । संक्रमणको जोखिम बढ्दै गएपति एक हप्ताका लागि जारी भएको निषेधाज्ञाको चौथो दिनपनि सडक, बजार र शहर सुनसान देखिए ।
राजधानी दैनिकबाट ।