मुलुकको कूल गार्हस्थ उत्पादनलाई शेयर बजारले पछाडि पारेको छ । मङ्गलबारको कारोवारपछि नेपालको शेयर बजारको कूल बजार पूँजीकरण ४१ खर्ब ९ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ बराबर पुगेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो ।
नेपाल धितोपत्र बोर्डका अध्क्ष भीष्मराज ढुङ्गानाले अन्य क्षेत्रमा लगानीको अवसर कोरोनाका कारण सङ्कटमा परेकाले नेपालको धितोपत्र बजार विस्तारित भएको बताएकै दिन बजार पूँजीकरणमा उल्लेख्य सुधार देखिएको हो ।
उनले आज आयोजित एक श्रव्यदृश्य कार्यक्रममा उक्त जानकारी दिएका थिए । सोमबारको तुलनामा आज बजार पूँजीकरण मात्रै ७४ अर्ब १९ करोड बढीले वृद्धि भएको हो ।
मुलुकको कूल गार्हस्थ उत्पादन ४० खर्बको हाराहारीमा रहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.४४ बिन्दुले वृद्धि भई दुई हजार ९६०.१४ मा पुगेको छ । नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेप्सेले कीर्तिमान कायम गर्दा ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.४७ बिन्दुले उकालो लागेर ५२८.१० मा पुगेको छ ।
नेप्सेका अनुसार कूल २१८ कम्पनीको ३ करोड ५७ लाख ३७४ कित्ता शेयर १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । होटल तथा पर्यटन १६.४५, लघुवित्त २४.२१ र लगानी ०.९३ ले ओरालो लागेको छ ।
बैंकिङ २०.१, व्यापार १९.२७, विकास बैंक ३९८.२९, जलविद्युत् ५८.३६, वित्त १८५.९३, निर्जीवन बीमा ५५४.१५, उत्पादन १२९.३, अन्य ४५.६३,जीवन बीमा ६६८.५७ र सामूहिक लगानी कोष ०.३४ बिन्दुले बढेको छ ।
कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ६ करोड ६४ लाख ६४ हजार ७२१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
रसुवागडी हाइड्रोपावर ४७ करोड ८२ लाख ९२ हजार १०७, युनाइटेड मोदी ३७ करोड ३९ लाख ७९ हजार ५८, लुम्बिनी विकास बैंक ३५ करोड ७८ लाख ७४ हजार ४९६ र नेपाल पूर्वाधार बैंक ३३ करोड ३१ लाख १५ हजार १०९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
यस्तै, हिमालयन जनरल इन्स्योरेन्स, गुर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स,जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
मेरो माइक्रोफाइनान्स २.८५, हिमाल दोलखा हाइड्रोपावर २.८२, सामुदायिक लघुवित्त २.६१, मिथिला लघुवित्त २.०७ र आइसिएफसी फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.९४ प्रतिशतले गुमाएका छन् ।