कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले लोक संस्कृति जगेर्ना गर्नका लागि कार्यक्रम अघि सारेको छ ।
नगरपालिकाले लोक संस्कृति, लोकभाका जगेर्ना गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
नगरका बासिन्दाका पहिचान बोकेका संस्कृति हराउँदै जान थालेपछि संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन हुने भएका छन् । नगरपालिका क्षेत्रमा पहाडी समुदायसँगै थारु समुदायको बसोवास रहेको छ ।
'पहाडी (डोट्याली) समुदायका लोक संस्कृतिका रुपमा रहेका सगुन, फाग, धुमारी, देउडा, राना थारु समुदायको होरी, चौधरी डगौरा समुदायको सखिया, माघी लगायतका नृत्य संगै प्रस्तुत गरिने लोक भाकाको मौलिकपन हराउँदै जान थालेपछि जगेर्ना गर्नका लागि नीति तथा कार्यक्रमै कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता गरेका छौँ,' नगर प्रमुख दिलबहादुर ऐरले भने, 'यसलाई कार्यान्वयन गर्छौं ।'
'लोक भाकाहरू स्थानीय समुदायका गहना हुन् । यसले पहिचानलाई झल्काउँछ । पहिचानै लोप भए संस्कृति हराउँछ । यसै कुरालाई आत्मसात गर्दै पहिलोपटक लोकभाका जोगाउनका लागि कार्यक्रम ल्याएका छौँ,' उनले भने ।
पहाडी समुदायले शुभकार्यमा गाउने सुगन गीत, सामूहिक रुपमा गाउने लोक लय फाग हराउँदै जान थालेका छन् । परम्परादेखि माङ्गलिक कार्यक्रहरुमा गाइने गीत पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण नगर्दा हराउँदै जान थालेको छ ।