जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन् । तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन् ।
बाजुराको हिमाली गाउँपालिका– २ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ । ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त्यसैले चामल लिन म आफैँ आएँ । नपाएर तनाव भयो,’ जुनकलाले भनिन्, ‘दसैँ–तिहार आयो, मिठो मसिनो नभए पनि भात खान नपाइने भयो, गाउँमा महँगो चामल किन्न सकिन्न ।’
चामलका लागि साहूबाट सय कडा ५ रुपैयाँको ब्याजमा ऋण निकालेर उनले ल्याइन् । ‘गाउँको साहूसँग ऋण काडेर ल्याएको, यता चामल नपाएपछि कोल्टी जाउँ भनेको त त्यहाँ पनि सकिएको रहेछ’, जुनकलाले भनिन् ।
सोही गाउँकी धर्मा बुढा पनि चामल नपाएर घर फर्किइन् । धर्माका श्रीमान् कामका लागि भारत गएका छन् । उनी लालाबाला छिमेकीको भरमा छोडेर तीन दिन लगाएर चामल किन्न आएकी हुन् । तर, उनी पनि रित्तो हात घर फर्केकी छन् ।
‘सरकारले पनि कस्तो बेवास्ता गरेको ? सरकारसँग किनेर पनि दसैँमा चामल खान नपाइने भयो’, धर्माले निराश हुँदै गुनासो गरिन् । चामल नपाए अब दसैँमा कन्दमूल, गिठ्ठा, भ्याकुर र सिस्नोमा छाक टार्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।
सोही ठाउँका जयबहादुर भण्डारी पनि खाद्यान्न लिन कवाडी बिक्री केन्द्र पुगे । त्यहाँ नपाएपछि कोल्टी पुगेरै भए पनि खाद्यान्न लिएरै आउने उनको धोको थियो । तर, कोल्टी डिपो पनि खाली भएको थाहा पाएपछि उनी रित्तै फर्किए ।
‘दसैँनजिक आउन थाल्यो, सरकारले दसैँका लागि त चामल पठायो होला भन्ने लागेको थियो तर, पठाएनछ’, भण्डारीले भने, ‘सरकार ठूलो चाडबाडका बेला खाने व्यवस्था मिलाइदेऊ ।’
यो समाचार अन्नपूर्ण पोस्टमा छ ।