बुधबार शेयर बजार परिसूचक नेप्से ६०.५६ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से सूचक २५७१.६६ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका २१७ कम्पनीका ६१ लाख १ हजार ४ सय १४ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सबैभन्दा धेरै ९ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ७ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका सबै समूहगत सूचक बढेका छन् । जसमध्ये फाइनान्स समूह सबैभन्दा धेरै ५.८१ प्रतिशत र हाइड्रो समुह ४.३१ प्रतिशतले बढेको छ ।
आज मैलुंग खोला जलविद्युत कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, र युनिभर्सल पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सीइडीबी हाइड्रो, नेशनल हाइड्रो, युनाईटेड मोदी, मेरो माइक्रो फाइनान्स र अरुण भ्यालीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार ब्याजदर बारेको नयाँ सर्कुलर जारी गरेपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको हो । बैंकहरूले आफूखुसी अधिक ब्याजदर निर्धारण गर्न थालेपछि नेपाल राष्ट्र बैंकले मंगलबार अबेर नयाँ निर्देशन जारी गरेको हो ।
जसअनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अधिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्। यस अघि यस्तो सीमा नरहेको अब १० प्रतिशतको सीमा लगाइएको हो ।