मनग्गे पैसा कमाउने र धनी बन्ने रहर कसलाई पो नहोला । तर, सबै जना धनी बन्न भने सकिरहेका हुँदैनन् । त्यसो हुनुमा अन्य कुराका अलावा उनीहरूकै बानी व्यवहारको पनि प्रमुख भूमिका रहन्छ ।
धनी बन्न मन भए पनि पैसा कमाउनु भनेको सजिलो कुरा भने होइन । त्यसका लागि मेहनत, चलाखी र हिम्मत देखाउनु पर्छ ।
नेपालीमा उखानै छ नि- पैसा अप्ठ्यारोमा फल्छ । अर्थात् धन कमाउन सजिलो छैन । तर, पैसा चिन्न र टिप्न जान्यो भने हावामा पनि पैसा छ । यी दुवै भनाइमा सत्यता छ । कोही हावामा उडीरहेको पैसा टिपेर धनाड्य बनीरहेका छन् । भने कोही आफ्नै अगाडिको अवसर पनि चिन्न नसक्दा पैसा कामउनबाट चुकीरहेका छन् ।
कतिपयलाई लाग्ला भाग्यमा भएकाहरूले पैसा कमाउँछन् भनेर । तर, भाग्यमा भएर मात्र पैसा कमाइने होइन । त्यसका लागि लगन र मेहनत अनी त्यसअनुसारको कर्म आवश्यक पर्दछ ।
भाग्यलाई कर्ममा रुपान्तरण गरी धनी बन्न सघाउने यी छ कुराहरू तपाईं पनि आजैदेखि आफ्नो जीवनमा लागू गर्नुहोसः
लक्ष्यमा केन्द्रित हुनेः
कुनै पनि कार्यका लागि लक्ष्य आवश्यक हुन्छ भने झन् धनी बन्नका लागि त यो अपरिहार्य आवश्यकता नै भइहाल्यो । निश्चित लक्ष्य बनाएर त्यसअनुसारको कर्म गर्दै जाने मान्छेहरू नै वास्तावमा सफल भएका छन् ।
लक्ष्य निर्धारण गर्दा पनि आफ्नो क्षमतामा ध्यान दिनुहोस् र सोहीअनुसारको लक्ष्य बनाउनुहोस् । लक्ष्य निर्धारण गरेपछि योजनाबद्ध रूपमा त्यसमा केन्द्रित हुनुहोस् ।
एक रिपोर्टका अनुसार ८० प्रतिशत अरबपतिहरू एउटा लक्ष्य निर्धारण गरी त्यसलाई पूरा गर्न योजनाबद्ध रूपमा लागेकाहरू छन् । त्यसका लागि उनीहरूले अथक मेहनत गरेका छन् । तर हार मानेका छैनन् ।
अध्ययन गर्नेः
धनी बन्नका लागि धन कमाउनु आवश्यक छ । र त्यसका लागि ज्ञान हुनु आवश्यक छ । सोहीकारण अध्ययन गर्ने बानीको विकास गर्नुहोस् । यसले तपाईंलाई नयाँ नयाँ कुराको बारेमा जानकारी दिन्छ । साथै तपाईंले गर्दै आउनुभएको काममा पनि नयाँ कुरा जानकारी पाउन सकिन्छ ।
निश्चित रूपमा धनी बन्नका लागि ज्ञानको दायरा फराकिलो हुनु आवश्यक छ । त्यसका लागि तपाईंलाई अध्ययनले निकै फाइदा पुर्याउँछ । सोहीकारण अबदेखि फुर्सदको समयमा अध्ययन गर्ने बानीको विकास गर्नुहोस् ।
हामीमध्ये धेरैजना फुर्सदको समयमा टीभी हेर्ने तथा सामाजिक सञ्जालहरू चलाउने गर्दछौँ । तर, टीभी हेर्ने या सामाजिक सञ्जाल चलाउनुभन्दा अध्ययन गर्नु धेरै राम्रो र फाइदाजनक कुरा हो ।
भाग्यमा होइन कर्ममा विश्वासः
धेरै मानिसलाई लाग्छ कोही व्यक्ति उसको भाग्यका कारण धनाड्य भएको छ । तर, वास्तविकता के हो भने कोही व्यक्ति कर्मका कारण धनी बनेको हुन्छ । हरेक सफल व्यक्तिले उसको जीवनमा असीमित संघर्ष गरेर सफलता प्राप्त गरेको हुन्छ ।
सोहीकारण तपाईं पनि भाग्यलाई दोष दिएर कर्म गर्न, परिश्रम र मेहनत गर्न नछाड्नुहोस् । याद गर्नुहोस् कर्मले भाग्य बदल्ने हो भाग्यले कर्म होइन । पसिनाले सफलता जन्माउँछ । यसर्थ मेहनत जारी राख्नुहोस् । एकदिन अवस्य सफलता मिल्ने छ । भाग्य सबैको हुन्छ, कर्म गर्नेहरूले भाग्यलाई सफलतामा बदल्छन्, भाग्यकै भरोसामा बस्नेहरू अभागी ठहरिन्छन् ।
बचत गर्नेः
धनी बन्नका लागि अर्को आवश्यक कुरा हो बचत गर्ने बानीको विकास । कमाएको सबै पैसा खर्च नगर्नुहोस् । केही मात्रामा बचत गर्ने गर्नुहोस् । यसले तपाईंलाई लगानी गर्नका लागि बजेट उपलब्ध गराउँछ । कमाउने र कमाएजति सबै खर्च गर्ने बानीले कसैलाई पनि धनी बन्न दिँदैन । त्यसैले कमाएको केही प्रतिशत रकम बचत गर्ने गर्नुहोस् । त्यसका लागि तपाईंले बचत गर्ने आदत बसाउनै पर्छ ।
लगानी गर्नुः
बचत गरेको पैसा कमाइ हुने क्षेत्रमा लगानी गर्नुपर्छ । बचत गरेर मात्र हुँदैन त्यसलाई सकेसम्म धेरै प्रतिफल दिने क्षेत्रमा लगानी गर्नु पर्दछ । यसले तपाईंले आम्दानी बढ्दै जान्छ । जसका कारण तपाईं धनी बन्न सक्नुहुन्छ ।
लगानीका लागि बचतको आवश्यकता पर्दछ । त्यसैले बचत गर्दै लगानी बढाउँदै लैजाँदा धनी बन्न सघाउ पुर्याउँछ ।
अवसर चिन्नुः
कहिलेकाहीँ हामीले अवसर चिन्न नसक्दा हातैमा आएको अवसर पनि गुम्न दिइरहेका हुन्छौँ । त्यसैले अवसर चिन्न सक्नु पर्दछ । भनिन्छ हरेक मानिसको ढोकामा एक न एक पटक अवसरले ढक्ढक्याउँछ । त्यसलाई चिन्नेहरूले अवसरलाई सफलतामा बदल्छन्, नचिन्नेहरू ढोका बन्द गरेर निदाउँछन् । जसले अवसरलाई चिन्छ र त्यसलाई सदुपयोग गर्छ, उसैले सफलताको सिंढी चढ्नेछ ।
त्यसैले तपाईं पनि हरेक कुरालाई इग्नोर गर्ने बानी छाड्नुहोस् । कुनै पनि कुरालाई बुझेर मात्र त्यसबारेमा निर्णय लिने गर्नुहोस् । के थाहा ठूलै अवसरले पो तपाईंको ढोका ढकढक्याएको पो छ कि ।