नेपाल धितोपत्र बोर्डको अध्यक्षमा १२ जनाले आवेदन दिएका छन् । बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित छनौट समितिले बिहीबारसम्म आवेदन दिन पाउने गरी कात्तिक ११ मा सूचना जारी गरेको थियो ।
उक्त सूचनाअनुसार आवेदन दिन पाउने अन्तिम दिन (बिहीबार) सम्म १२ जनाले अध्यक्षका लागि दरखास्त दिएका हुन् । आवेदन दिनेमा बोर्डका कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशक छन् ।
त्यस्तै नेप्सेको पूर्वसीईओदेखि बीमा समितिका पूर्वअध्यक्षले पनि बोर्डको अध्यक्षका लागि आवेदन दिएका छन् ।
कसकसले दिए आवेदन ?
बोर्डका कार्यकारी निर्देशक निरज गिरी
उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी
नेप्सेका पूर्वसीईओ सिताराम थपलिया
बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाई
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट
डा. केशव प्रसाद श्रेष्ठ
रमेश हमाल
जीवन अमगाई
अनिल पौडेल
कृष्ण आचार्य
अम्बिका लामिछाने
हेमन्त बस्याल
अर्थ मन्त्रालयले अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्न सिफारिस समिति गठन गरेको थियो । मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यको रुपमा प्रा.डा नारायण प्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको हो ।
यस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नेछ । तिमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ ।
बोर्डको अध्यक्ष हुनको लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ ।
बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया बढाएको हो ।