नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ११ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम म्यादसम्म ११ जनाले दरखास्त दिएका हुन् ।
नेप्सेकै दुई उच्च अधिकारीसहित ११ जनाले दरखास्त दिएका हुन् । मन्त्रालयका अनुसार नेप्सेका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र उपप्रबन्धक प्रविन पन्दाकले सीईओका लागि आवेदन दिएका छन् ।
त्यस्तै धितोपत्र बोर्डको अध्यक्षमा आवेदन दिएका जीवन अमगाई र केशव कुमार श्रेष्ठले नेप्सेको सीईओको लगि पनि आवेदन दिएका छन् ।
अन्य आवेदकहरूमा बद्री प्रसाद प्याकुरेल, डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, छवीराज पन्त र रमेश घिमिरे छन् ।
अब छनौट तथा सिफारिस समितिले यीमध्येबाट ३ जनाको नाम छनौट गरी मन्त्रिपरिषद्मा सिफारिस गर्ने छ भने मन्त्रिपरिषद्को बैठकले १ जनालाई सीईओ नियुक्त गर्नेछ ।
नेप्सेको सीईओ हुनको लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ मा तोकिए बमोजिम मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन, विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी वा चार्टर्ड एकाउन्टेन्ट उपाधि वा सो सरहको उपाधि हासिल गरी पूँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानून वा व्यवस्थापन क्षेत्रहरू मध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव हासिल गरेको हुनु पर्ने व्यवस्था छ ।
त्यस्तै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम तीस वर्ष पूरा भई साठी वर्ष उमेर ननाघेको र धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १७ बमोजिम अयोग्य नरहेको हुनु पर्ने व्यवस्था छ।