नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि सर्ट लिस्ट तयार भएको छ । सीईओ नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले परेका आवेदकमध्येबाट पहिलो चरणमा पाँच जना छनोट गरेको हो ।
समितिले आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यवसायिक कार्ययोजना परीक्षणका आधारमा पाँच जना आवेदकलाई छनोट गरिएको जानकारी दिएको छ ।
अब छनोट भएका उम्मेदवारहरूले आइतबार व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिनेछन् । उनीहरूमध्येबाट एक जना नेप्सेको सीईओमा नियुक्त हुनेछन् ।
आवेदकमध्ये कृष्णबहादुर कार्की (रिब्दीकोट- ७, पाल्ला), डा. केशवप्रसाद श्रेष्ठ (ललितपुर- २३), प्रविन पन्दाक (शान्तिनगर, झापा), रमेश घिमिरे (शिवसताक्षी, झापा) र डा. रमेशकुमार भण्डारी (आँटफैला, नवलपरासी) सर्ट लिस्टमा छनोट भएका छन् ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्वसीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका थिए । त्यसपछि खाली रहेको पदमा नयाँ नियुक्त गर्न छनोट समिति बनाएर उम्मेदवारी माग गरिएको थियो ।
समितिले उल्लेखित उम्मेदवारबाट तीन जनाको नाम सिफारिस गर्नेछ र त्यसमध्ये मन्त्रिपरिषद्ले एक जनालाई चार वर्षका लागि नेप्सेको कार्यकारी अधिकृतमा छनोट गर्नेछ ।