नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको खुलासा गरेका छन् ।
तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले आफूसँग सम्झौता गरेको ओलीले खुलाएका हुन् ।
‘पार्टी विवादबारेको मुद्दा अदालतबाट के हुन्छ, के हुन्छ ?’ भन्ने भएपछि प्रचण्डले मसँग सम्झौता गरेका थिए,’ ओलीले भने, ‘त्यो सम्झौताको उनले पनि चर्चा गरेका छैनन्, मैले पनि अहिलेसम्म गर्या छैन । तर, अहिले म भन्छु, उनले मसँग सम्झौता गरेका थिए ।’
सम्झौताको एक, एकप्रति आफू र प्रचण्डसँग रहेको ओलीले बताए । ‘त्यसको एकप्रति प्रचण्डसँग छ, एकप्रति कागज मसँग छ,’ ओलीले भने ।
सम्झौताको विषय र उद्देश्य भने प्रचण्डले नै सार्वजनिक गर्नुपर्ने ओलीले बताए । प्रचण्डले सार्वजनिक नगरे सम्झौता गर्दाका साक्षी ‘गोप्य’ व्यक्तिले सम्झौता सार्वजनिक गर्न सक्ने ओलीले बताए ।
पाँचदलीय गठबन्धनले ‘नियन्त्रित अस्थिरता’ चाहनेको पोल्टोमा राजनीति हालिदिएको उनले आरोप लगाए । प्रचण्ड, नेपाललाई कम्युनिस्ट आन्दोलनको भविष्य, देश र जनताप्रति कुनै मतलव नभएको ओलीले दाबी गरे ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।