जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि जारी हुने भएको छ । कम्पनीले आजदेखि माघ २५ गतेसम्म आवेदन दिन पाउने गरी सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको हो ।
उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरे फागुन ६ सम्म पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ५ करोड २२ लाख मूल्य बराबरको ५ लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुल्ला गर्न लागेको हो ।
निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ४ लाख ८७ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले माघ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सीआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको पूँजीको संरचनामा अधिकृत पूँजी २५ करोड र हालको जारी पूँजी १६ करोड बराबरको तथा तत्कालको चुक्तापूँजी १० करोड ७८ लाख छ ।
विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।