नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपूतले ल्याएको 'पिर' गीतबारे कोही उत्तेजित हुनु जरूरी नभएको प्रतिक्रिया दिएका छन् ।
शुक्रबार रिलिज भएको पिर गीतबारे माओवादी कार्यकर्ताहरू प्रतिक्रियात्मक भइरहँदा प्रचण्डले गीतबारे उत्तेजित हुनु आवश्यक नरहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा सोमबार बिहान पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले 'जनयुद्ध'बाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने बताए ।
माओवादीकै केही नेता तथा भातृ संगठनले उक्त गीत युट्युबबाट हटाउन माग गरिरहेका छन् । यस्तो बेला प्रचण्डको उक्त भनाइ आएको हो । यद्यपि उक्त गीत आफूले पूरै हेर्न नपाएको उनको भनाइ थियो ।
‘मैले त्यो पूरै गीत हेर्न पाएको पनि छैन, अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन,’ प्रचण्डले भने, ‘तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन् । त्यसलाई स्वभाविक रूपले लिनुपर्छ ।’
पार्टी शान्ति प्रक्रियामा आएको ठिक कि बेठिक भन्नेबारे पनि सयौँ वर्षसम्म बहस हुने प्रचण्डको भनाइ थियो ।
‘कतार, मलेसिया जाँदा त्यहाँ लडाकु दु:खपूर्ण जीवन विताइरहेका छन्। दु:ख गरे पनि कमरेड तपाईंलाई अप्ठ्यारो परेका बेला भन्नुस् हामी फेरि आउन तयार छौं, विचलित भएका छैनौं भन्नुभएको थियो,’ उनले भने ।