लगभग सबैजसो मानिसहरूको चाहना हुन्छ धनी बन्ने । तर, चाहने जति सबै जना धनी बन्न भने सक्दैनन् । धनी बन्नका लागि पनि केही बानीमा सुधार गर्नुपर्ने र केही बानी अपनाउनुपर्ने हुन्छ ।
वास्तवमा धनी कसरी बन्ने भन्ने सम्बन्धमा ठ्याक्कै उत्तर दिन भने कठिन हुन्छ । तर, विभिन्न आनीबानी अनि प्रयास र संघर्षको प्रतिफलस्वरुप मानिसहरू धनी बन्छन् ।
अहिलेको दुनियाँ खर्चिलो छ । यस्तो अवस्थामा त झन् धनी बन्न सजिलो छैन । किनभने मानिसहरूका आवश्यकताहरू दिनानुदिन बढीरहेका छन् । जसको परिपूर्ति गर्दागर्दै समय र पुँजी खर्च हुन्छ ।
तर, पनि केही यस्ता उपाय अपनाएमा भने क्रमैसँग आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ । आज हामी हाम्रो दैनिक जीवनमा परिवर्तन ल्याउनुपर्ने कुराहरूको बारेमा चर्चा गर्दैछौँ । ती कुराहरूलाई निम्नबमोजिम प्रस्तुत गर्न सकिन्छ ।
१. आफ्नो लक्ष्य चुन्नुहोस्
यदि तपाईं तुलनात्मक रूपमा कम समयमा धनी बन्न चाहनुहुन्छ भने तपाईंले सही लक्ष्य चुन्नु आवश्यक छ । भनिन्छ लक्ष्यबिनाको मानिससँग सफलता पाउनका लागि कुनै गन्तव्य नै हुँदैन । त्यसैले धनी बन्नका लागि पनि आफ्नो लक्ष्य चुन्नु अपरिहार्य छ । तर, लक्ष्यचाहिँ उपयुक्त र सहि हुनु आवश्यक छ ।
लक्ष्य चुन्नका लागि तपाईंले कसैको सहयोग लिन पनि सक्नुहुन्छ । त्यसका लागि समाजमा आफ्नो क्षेत्रमा सफल भएका मानिसहरूसँग छलफल गर्न सकिन्छ । सफलतामा उनीहरूले गरेको संघर्ष र अनुभवले तपाईंलाई फाइदा पुर्याउन सक्छ ।
२. समय खेर नपाल्नुहोस्
यदि तपाईं सम्पन्न बन्न चाहनुहुन्छ भने समयको सदुपयोग गर्नु आवश्यक छ । व्यर्थमा अमूल्य समय खेर फालेर कुनै पनि व्यक्ति सम्पन्न बन्न सक्दैन । त्यसले धनी बन्नका लागि समयको सदुपयोग गर्नु एकदमै आवश्यक छ ।
तपाईंले समयको सदुपयोग गर्न जान्नै पर्दछ । किनकि समय खेर फाल्दा त्यसले हानी मात्र पुर्याउँछ, फाइदा गर्दैन । यदि तपाईं करोडपति बन्न चाहनुहुन्छ भने हरेक मिनेटको सदुपयोग गर्नु आवश्यक छ । हरेक समय तपाईंले आफूलाई कुनै न कुनै काममा व्यस्त राख्नु आवश्यक छ । त्यसका लागि आफूबाट अल्छि पनालाई सदाका लागि त्याग्नै पर्दछ ।
३. सकारात्मक सोच राख्नुस्
धनी बन्नका लागि आवश्यक गुणहरूमध्ये सकारात्मक सोच राख्नु पनि एउटा हो । बनीसकेको काम पनि कहिलेकाहीँ नकारात्मक सोच राख्दा बिग्रेको उदाहरणहरू पाइन्छ । त्यसैले सकारात्मक सोच राख्नु पनि एकदमै आवश्यक छ ।
भनिन्छ सकारात्मक सोच हरेक सफलताको कारक हो भने नकारात्मक सोच असफलता निम्त्याउने कारक हो । जुनसुकै अवस्थामा पनि सकारात्मक सोच राख्न सकिन्छ र ? भन्ने प्रश्न पनि तपाईंको मनमा उब्जन सक्छ । तर, प्रयास गरेर त हेर्नुस् ।
४. अहिलेदेखि नै काम गर्न सुरु गर्नुस्
कुनै पनि कामलाई पछाडि गरौँला भनेर पर नसार्नुहोस् । अर्थात् त्यसलाई नटार्नुहोस् । राम्रो काम गर्नका लागि सदैब राम्रो समय नै हुन्छ । त्यसैले भोलि या पर्सिदेखि गरौँला भनेर कामलाई पछाडि धकेल्ने प्रयास नगर्नुहोस् । त्यसो गरेमा काम थुप्रिँदै जान्छ । र, तपाईंको समय व्यर्थैमा गइरहेको हुन्छ ।
यसर्थ कुनै पनि काम गर्ने सोचमा हुनुहुन्छ भने त्यसलाई जतिसक्दो छिटो सुरु गर्नुहोस् । याद राख्नुहोस् समय अमूल्य छ । यो अमूल्य समयलाई त्यत्तिकै व्यर्थमा खेर नफाल्नुहोस् । धनी बन्नका लागि यो बानी हुनु पनि एकदमै आवश्यक छ ।
५. आफ्नै व्यापार/व्यवसाय सुरु गर्नुहोस्
आफ्नो क्षेत्रमा सफल बनेका व्यवसायी तथा धनवान् व्यक्तिहरूले प्रायः एउटै सुझाव दिइरहेका हुन्छन्- धनी बन्ने हो भने आफ्नो व्यापार/व्यवसाय सुरु गर्नुहोस् । उनीहरूका अनुसार नोकरीले व्यक्तिलाई आफ्नो आवश्यकता पूरा गर्न त सघाउँछ तर, व्यापार/व्यवसायबाट भने आफ्नो आवश्यकता पूरा गर्नुका साथै अधिक धन कमाउने अवसर पनि प्राप्त हुन्छ ।
त्यसैले आफ्नो व्यापार सुरु गर्नुहोस् । तर, व्यापार सुरु गर्नुअगाडि भने अलि सोचविचार गर्नुहोस् । आफूले नजानेको क्षेत्रमा एक्कासी व्यापार सुरु गर्दा भने त्यसले तपाईंलाई हानी पुर्याउन पनि सक्छ । त्यसैले यसबारेमा भने राम्ररी सोच विचार गर्नु आवश्यक छ ।
६. आत्मविश्वास राख्नुहोस्
हरेक मानिसहरूको सफलताको रहस्य उसको आत्मविश्वास हो । यदि तपाईंमा आत्मविश्वासको कमी छ भने तपाईंले सफलता पाउन सक्नुहुन्न । त्यसैले हमेसा आत्मविश्वासका साथ अगाडि बढे मात्र गन्तव्यमा पुग्न सकिन्छ । धनी बन्नका लागि आत्मविश्वास हुनु पनि एकदमै महत्वपूर्ण कुरा हो ।
७. इमान्दारीताका साथ काम गर्नुहोस् ।
यदि तपाईं सफल बन्न चाहनुहुन्छ भने इमानदारीताका साथ काम गर्नु आवश्यक छ । बेइमान मानिसहरू कहिल्यै पनि सफल बन्न सक्दैनन् । हरेक मानिसको सफलताको रहस्य उसको इमानदारी हो । त्यसैले तपाईं पनि धनी र सफल बन्न चाहनुहुन्छ भने आफूले गर्ने हरेक कार्य पूरा इमानदारीताका साथ गर्नुहोस् । बेइमानीपूर्ण कामले तपाईंलाई कहिल्यै पनि सफल बनाउन सक्दैन ।
८. आफ्नो समूह बनाउनुहोस्
एक्लो मानिसले गर्ने काम सीमित हुन्छ । त्यसले तपाईंलाई सीमित प्रतिफल मात्र दिन सक्छ । तसर्थ सफलताका लागि समूह बनाएर काम गर्ने गर्नुहोस् । एक्लै अघि बढ्न खोज्दा तपाईंले अरुको साथ पाउनुहुन्न जसका कारण तपाईंलाई गन्तव्यमा पुग्न सजिलो हुँदैन ।
तसर्थ तपाईं पनि आफू सुहाउँदै समूह बनाउनुस् र उक्त समूहका माध्यमबाट आफ्नो कार्यलाई निरन्तरता दिनुहोस् । यसले तपाईंलाई गन्तव्यमा पुग्न सहयोग मिल्दछ ।
९. सहयोगी बन्नुहोस्
झट्ट सुन्दा त यस्तो लाग्छ सहयोगी बन्दा या अरुलाई सहयोग गर्दा मानिस कसरी धनी बन्छ ? तर, तपाईं सहयोगी हुनुहुन्छ अरुको दुःखमा सहयोग गर्नुहुन्छ भने मानिहरूमा तपाईंप्रति प्रेम बढ्छ । जसका कारण आवश्यक पर्दा तपाईंलाई पनि सहयोग गर्नेहरूको कमी हुँदैन ।
सहयोगी व्यक्ति सबैको प्रिय हुने हुनाले यसले सुरु गरेको व्यापार व्यवसायमा पनि मानिसहरू आकर्षित हुन्छन् । जसका कारण तपाईंलाई धनी बन्न सहयोग पुग्दछ ।
१०. धैर्यवान बन्नुहोस्
मानिसहरूको सबभन्दा ठूलो कमजोरी भनेको धैर्य गर्न नसक्नु हो । रातारात कोही पनि व्यक्ति सफल भएका छैनन् । मानिसहरू छिट्टै नै सफल हुन चाहन्छन् । तर, सबै सोचेजस्तो छिटो सफल र सम्पन्न हुन सक्दैनन् । त्यसपछि मानिसहरू गलत बाटो अवलम्वन गर्न पुग्दछन् । त्यसैले कुनै पनि कार्य गर्दा धैर्य आवश्यक छ । धैर्यबिना कुनै पनि हालतमा सफलता पाउन सकिँदैन । लामो संघर्ष र मेहनतको प्रतिफलस्वरुप सफलता प्राप्त हुन्छ । त्यसैले छिटै सफलता पाउन सकिएन भनेर निरास हुने या गलत बाटो हिँड्ने प्रयास नगर्नुहोस् ।
कुनै पनि काममा छिटो सफलता पाउन सकिएन भने अझ बढी मेहनत र लगनशीलताको आवश्यकता रहेको छ भनेर बुझ्नु पर्छ । गलत मार्ग प्रयोग गरेर कोही पनि व्यक्ति सफल हुन सक्दैन । धनी बन्नका लागि धैर्यता निकै नै आवश्यक छ ।