वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेशनले मगाएको ३२ हजार मेट्रिकटन युरियामध्ये आधाभन्दा बढी परिमाण नेपाल भित्रिइसकेको छ ।
तर, यो वर्ष धान खेतीका लागि मल आपूर्ति सहज हुने सम्भावना भने टरेर गएको छ ।
मल संकट टार्न नेपालले बंगलादेशसित पैंचो मागेको युरियासमेत किसानले धानखेतीको यो सिजनमा नपाउने भएका छन् ।
बंगलादेशबाट मल ल्याउन प्रयोग गरिने ढुवानी रूट निक्र्योल गर्न र प्रक्रियाका लागि समय लाग्ने देखिएकाले धानका लागि उपलब्ध नहुने भएको हो ।
सरकारले बंगलादेशबाट मल भित्र्याउन सहज रूट सुझाउन कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जिम्मा दिएको छ ।
बंगलादेशबाट मल भित्र्याउन उपयुक्त रूट कुन हुन सक्छ भन्नेबारेमा बुझ्ने काम भइरहेको महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए ।
कृषि मन्त्रालयले बंगलादेशसित मागिएको मल ‘धानकै लागि आवश्यक हुन सक्ने र गहुँको लागि थप युरिया आवश्यक हुन सक्ने’ भनेर धानको सिजनमा ल्याउन नसक्ने संकेत गरिसकेको छ ।
सरकारले मल आयातको जिम्मा दिएका प्रतिष्ठानले बेलैमा मल ल्याउन नसक्दा किसानले मुख्य बालीका लागि मल नपाएका हुन् ।
साल्ट ट्रेडिङले आयात गरेको गत आर्थिक वर्ष २०७६÷७७ को २१ हजार ५ सय र चालू आर्थिक वर्ष २०७७र७८ को १० हजार ५ सय मेट्रिकटनमध्ये १९ हजार ६ सय मेट्रिकटन मल भित्रिइसकेको छ ।
कोलकाता बन्दरगाहबाट वीरगञ्जका लागि २ हजार ६ सय मेट्रिकटनका दरले ६ र्याक मल गइसकेको त्यहाँस्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख लक्ष्मण खड्काले जानकारी दिए । ‘पूर्वी नाका विराटनगरका लागि पनि सडकमार्ग हुँदै ४ हजार मेट्रिकटन मल पठाइएको छ,’ प्रमुख खड्काले भने ।
कोलकाताबाट हिँडेका ६ मध्ये ५ र्याक मल वीरगञ्ज हुँदै भित्रिइसकेको र १ र्याक बाटोमै रहेको साल्ट ट्रेडिङका वीरगञ्ज कार्यालय प्रमुख अमोज लामिछानेले जानकारी दिए ।
वीरगञ्ज भित्रिइसकेको युरिया १९ जिल्लामा पठाएर वितरण भइरहेको लामिछानेले बताए ।
आर्थिक अभियान दैनिकबाट ।