काठमाडौं । नेपाल–भारत वाणिज्य सन्धिमा सुधार गर्न दुवै पक्ष सहमत भएका विषय तत्काल कार्यान्वयनमा जानुपर्नेमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन् ।
नेपाल–भारत उद्योग वाणिज्य सङ्घ ९निक्की० ले सोमबार आयोजना गरेको वेबिनारमा सहभागीहरूले यस्तो जोड दिएका हुन् ।
विसं २०७५ माघमा भएको नेपाल र भारतका अधिकारीको बैठकले दुई देशको व्यापारमा वाणिज्य सन्धिमा जल यातायातलाई पनि समावेश गर्ने निर्णय गरेको थियो ।
त्यसैअनुरूप २०७६ पुस २० गते नेपाल र भारतबीच भएको पारवहन सन्धिमा उक्त विषय समावेश गर्दै नवीकरण गरिएको थियो ।
त्यसअनुरूप भारतले निर्माण गरेको ‘इनल्यान्ड वाटरवेज’मा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्न दिने विषय थियो ।
सहमतिअनुसार नेपालले भारतको वाराणसी, कालुघाट र साहेबगञ्जबाट कमेलकातासम्म आफ्नै पानीजहाज सञ्चालन गर्न सक्ने व्यवस्था छ ।
त्यसका लागि पानीजहाज सञ्चालनका प्राविधिक विषयमा पनि बैठकले सहमति जुटाएको छ ।
जलमार्गको ढुवानी प्रक्रिया र व्यवस्था, भन्सार सहजीकरणजस्ता विषयमा बैठकले सहमति जुटाएको थियो ।
जलमार्गबाहेक रेलमार्फत नेपाल भित्रने बल्क कार्गोमा थप दुई सीमा पनि खुला गर्ने विषयको प्राविधिक काम भएको थियो ।
वीरगञ्जबाट मात्रै बल्क कार्गो ढुवानी हुँदै आएकोमा विराटनगर र भैरहवाबाट पनि ल्याउन सक्ने सुविधा नेपालले पाएको छ ।
दुई देशबीचको उक्त बैठकमा भएको सहमतिअनुसारका विषयमा प्रधानमन्त्री अथवा मन्त्रीस्तरमा हस्ताक्षर भइसकेपछि यी विषय कार्यान्वयनमा आउन ढिलाइ भएको जनाइएको छ ।
निक्कीका महासचिव आरबी रौनियारले नेपाल–भारत व्यापार तथा वाणिज्य सन्धिमा भएका सहमति कार्यान्वयनमा आउनुपर्नेमा जोड दिए । उनले सहमति भइसकेका विषयहरूसमेत कार्यान्वयनमा नआउँदा नेपालको व्यापार घाटा बढिरहेको टिप्पणी गरे ।
त्यस्तै दुई देशबीच बनेका कतिपय समितिको बैठकसमेत समयमा हुन नसकेको उनले बताए । उनले भन्सार प्रक्रियामा अझै पनि भनेजति सुधार हुन नसकेको र थुप्रै झन्झट बाँकी छन् भने ।
त्यस्तै गत वर्षदेखि सञ्चालन भएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जुन हिसाबले चल्नुपर्ने हो, त्यो पनि हुन नसकेको टिप्पणी गरे ।
उनले त्यस्तै ब्लक कार्गो एउटै नाकाबाट मात्र ल्याउनुपर्ने अवस्थाले आयात खर्च निकै महँगो पर्ने गरेको बताए ।
त्यस्तै निर्यातमा पनि निकै ठूलो समस्या झेल्नु परेको उनको भनाइ छ । उनले चीन तर्फको बन्दगाह प्रयोग गर्न पनि हाल केरुङदेखि काठमाडौं सम्मको सडकका कारण नै महाभारत पर्ने बताए ।
उनले दुवै देशले नेपालमा रेलवे विस्तारमा चासो दिएको अवस्थामा सरकार पनि गम्भीर भएर लाग्नुपर्ने बताए ।
निक्कीका अध्यक्ष सिर्जना राणाले दुई देशबीचको सम्बन्ध विशेष रहेको चर्चा गर्दै आगामी दिनमा नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न पनि भारतीय पर्यटकलाई प्राथमिकतामा राखिनुपर्ने बताए ।
उनले अबका दिनमा लक्जरियसभन्दा पनि धार्मिक र सुरक्षित पर्यटनलाई जोड दिन सके कोभिडका कारण शिथिल यस क्षेत्रले पुनः गति लिन सक्ने विश्वास व्यक्त गरे ।
गोरखापत्र दैनिकबाट ।