अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सोमबार (आज) देखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो ।
जसमध्ये ३९ हजार १ सय ५० कित्ता शेयर कम्पनीको कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको १८ लाख २० हजार ४ सय ७५ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयर निष्काशनको लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले वैशाख २२ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित स्थानीयवासी अन्तर्गत सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुंग, गोराखानी, टाप्टिंग र तिङ्गला गाविसका सम्पूर्ण वडाको लागि शेयर निष्काशन गरेको थियो । उक्त शेयर बाँडफाँड भइसकेको छ ।
कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ ।