पछिल्ला वर्षहरूमा नेपाल विद्युत् प्राधिकरणको नामा बढ्दै गएको छ । कुनै समय सञ्चित घाटा ३२ अर्ब पुगिसकेको प्राधिकरणले पछिल्ला वर्षहरूमा लगाता नाफा कमाउँदै आएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफा कमाएको प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ९ करोड नाफा पुग्ने प्रक्षेपण गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तीय विवरणअनुसार वार्षिक आम्दानी १ खर्ब नाघेको छ ।
ऊर्जा खपत २७ प्रतिशतले वृद्धि भएको, विद्युत् निर्यात वृद्धि भएको, प्राधिकरणका स्वामित्वका विद्युत् गृहबाट उत्पादन हुने विद्युत् करिब १६ प्रतिशतले वृद्धि भएको, विद्युत् च्हावट घटेको तथा प्रभावकारी रूपमा खर्च नियन्त्रण गरिएकाले आम्दानी बढेको घिसिङ बताउँछन् ।
आम्दानी बढेसँगै प्राधिकरणको खुद नाफा पनि बढेको हो ।
कहिले कति नाफा
- आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड घाटामा
- आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड नाफा
- आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ८४ करोड नाफा
- आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ६७ करोड नाफा
- आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ७५ करोड नाफा
- आर्थिक वर्ष २०७७/७८ मा अर्ब १० करोड नाफा
- आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ९ करोड नाफा (प्रक्षेपण)
विद्युत् चुहावट नियन्त्रण गर्ने योजना सफल हुँदै
विद्युत् चुहावट नियन्त्रण गर्ने प्राधिकरणको योजना सफल हुँदै गएको छ । आर्थिक वर्ष २०७२/७३ मा २५.३८ प्रतिशत रहेको विद्युत् चुहावट आर्थिक वर्ष २०७८/७९ मा आइपुग्दा १५.३८ प्रतिशतमा आइपुगेको छ । यो १० प्रतिशतले कमी हो ।
प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न चलाइएको अभियानबाट यो सफलता प्राप्त भएको प्राधिकरणले जानकारी दिएको छ ।
यसअघि आर्थिक वर्ष २०७६/७७ मा विद्युत् चुहावट १५.२५ प्रतिशत थियो । तर २०७७/७८ मा चुहावट बढेर १७.१८ प्रतिशत पुगेको थियो ।
घिसिङका अनुसार चुहावट नियन्त्रण गरेर मात्रै प्राधिकरणले अघिल्लो आर्थिक वर्षको तुलनामा थप करिब २ अर्ब आम्दानी गरेको छ । चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउँदै लगिने घिसिङले बताए ।
बढ्यो विद्युत् निर्यात
नेपालको विद्युत् निर्यात बढेको छ भने आयात घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा दैनिक ३६४ मेगावाटदेखि करिब ४ सय मेगावाटसम्म विद्युत भारत निर्यात भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४ करोड ४० लाख युनिट विद्युत् निर्यात भएकोमा आर्थिक वर्ष २०७८/७९ मा ४९ करोड ३० लाख युनिट विद्युत् निर्यात भए छ ।
विद्युत् निर्यातबाट मात्रै प्राधिकरणले ३ अर्ब ८८ करोड कमाएको बताइएको छ ।
प्राधिकरणका अनुसार विद्युत् आयात भने घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत् आयात गरिएकामा २०७८/७९ मा १ अर्ब ५४ करोड ३० लाख युनिट विद्युत् आयात भएको छ ।
अघिल्लो वर्षको तुलनामा विद्युत् खपत बढे पनि आयात घटाउन सफल भएको प्राधिकरणले जानकारी दिएको छ ।
यसरी हेर्दा आर्थिक वर्ष २०७८/७९ मा पनि खुद विद्युत् आयात भएको देखिन्छ । तर, प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङ भने यस वर्षदेखि खुद आयातको अन्त्य भइ खुद निर्यात सुरु हुने बताउँछन् ।