साञ्जेन जलविद्युत् कम्पनीको साइट कार्यालयमा तोडफोड भएको छ । रसुवाको धम्बुचेतमा रहेको साइट कार्यालयमा आइतबार तोडफोड भएको हो ।
गत्लाङ क्षेत्रका स्थानीयले कार्यालयमा तोडफोड गरेका हुन् । रसुवामा बनिरहेका सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना हेर्ने कार्यालयमा तोडफोड भएको कम्पनीका एक कर्मचारीले जानकारी दिए ।
कम्पनीले शेयर बाँडफाँट गर्दा आफूहरूलाई अतिप्रभावितको सूचीमा राख्न गत्लाङका स्थानीयले माग गर्दै आएका थिए । सोही कुरामा उनीहरूले कार्यालय तोडफोड गरेका हुन् ।
रसुवाले पाउने १० प्रतिशत शेयरमध्ये अतिप्रभावितका रूपमा आफूहरूलाई अग्राधिकार नदिएको भन्दै उनीहरू आक्रोशित बनेका थिए ।
स्थानीयको आक्रमणबाट कार्यालयको गाडी, फर्नीचर लगायतमा क्षति पुगेको छ । त्यस्तै कर्मचारीमाथि पनि हतपात भएको जनाइएको छ ।
त्यसक्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । झडपमा परी प्रहरी निरीक्षकसहित केही सुरक्षाकर्मी घाइते भएको जनाइएको छ ।
आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो ।
स्थानीयवासीले कार्यालय तथा ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलक्स छ, लोडर दुई, छवटा मोटर साइकल अफिस, तथा टेबुल कुर्सीसमेत तोडफोड गरेका जनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त सुरक्षा बलले अश्रु ग्यास र फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए ।