स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको आलोचना हुन थालेपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हग रोनाल्डोको बचाउमा उत्रिएका छन् ।
खासमा यो सिजनमा म्यानयूले अपेक्षाकृत प्रदर्शन गर्न नसकेको भन्दै आलोचकले रोनाल्डोको आलोचना गर्न थालेका थिए । त्यसपछि प्रशिक्षक हग बचाउमा उत्रिएका हुन् ।
इङ्लिस प्रिमियर लिगमा म्यानयूले सुरुवाती दुवै खेलमा पराजय ब्यहोर्यो । त्यसपछि टिममाथि आलोचकहरूले प्रश्न उठाउन थालेका हुन् । यसबीचमा रोनाल्डो आलोचनाको केन्द्रमा रहे ।
सुरुवाती दुवै खेलमा रोनाल्डोको खराब प्रदर्शन, प्रि-सिजनमा उपस्थित नहुनु र पटक-पटक उनको नाम युरोपका अन्य क्लबसँग जोडिनुले पनि उनको आलोचना भइरहेको हो ।
तर, स्टार खेलाडीको लगातार आलोचना हुन थालेपछि प्रशिक्षक हग उनको बचाउमा उत्रिएका हुन् । हगले हारको जिम्मेवार टिमको हुनुपर्ने बताए । तर, रोनाल्डो अझै पनि आफ्नो योजनामा रहेको हगले बताएका हुन् ।
हगले भनेका छन्- रोनाल्डोलाई लक्षित गरी किन आलोचना भइरहेको छ मलाई थाहा छैन । टोलीको प्रदर्शन टोलीले पराजयको कारण थियो । पूरा टोली यसको जिम्मेवार छ, रोनाल्डोसहित ।
सन् १९२१ यता म्यानचेस्टर युनाइटेड लिगमा सुरुवाती दुई खेलमा पराजित भएको पहिलो पटक हो । खराब लयमा रहेको टिमले आगामी सोमबार चीर परिचित प्रतिद्वन्द्वी लिभरपुलसँग मैदानमा उत्रिँदै छ ।
लिभरपुलसँगको खेल जित्नैपर्ने अवस्था रहेको प्रशिक्षक हेग पनि अस्वीकार गर्दैनन् । उनले उक्त खेल जित्नैपर्ने अवस्था रहेको बताए ।
प्रशिक्षक हगले भनेका छन्- म्यानचेस्टर युनाइटेड र लिभरपुल क्लबको इतिहासबारे थाहा छ । म्यानचेस्टर युनाइटेडले अब हरेक खेल जित्नुपर्छ । विशेषगरी यो खेल त जित्नै पर्छ । यसबारेमा म जानकार छु ।
यी दुई खेलमा टोलीले हार ब्यहोरे पनि अबका खेलमा सुधार गर्ने प्रशीक्षक हगले उल्लेख गरेका छन् । ती खेलबाट के ठीक छ र के मा सुधार गर्नुपर्छ भन्ने थाहा पाएको उनको भनाइ छ ।