गायीका बबिता बानिया जेरी र शंकर क्षेत्रीले गरेको डिभोर्सले अहिले सामाजिक सञ्जाल तातेको छ । कसैले जेरीलाई दोष थुपरेका छन् भने कसैले शंकरमाथि औँला ठड्याएका छन् ।
डिभोर्सपछि जेरीले केही युट्युबहरूलाई दिएका अन्तर्वार्ता निकै भावनात्मक छन् । उनले आफ्ना ती अन्तर्वार्ताहरूमा शंकरको व्यवहारबारे खुलेर बोलेकी छन् । उनका कुरा पत्याउने हो भने शंकरले उनीमाथि निकै तल्लो स्तरको व्यवहार गर्थे भन्ने बुझिन्छ ।
शंकर क्षेत्रीको पछिल्लो व्यवहारले आफूलाई भन्दा पनि आफ्नो गायनको आम्दानीलाई प्रेम गरेको देखिन्छ जेरीको अन्तर्वार्ता हेर्दा ।
धेरै अगाडिदेखि आफूहरूको सम्बन्धमा चिसोपन आएको जेरीले बताउने गरेकी छन् । तर, छोरीलगायत विभिन्न कारणले सम्बन्ध जोगाउँदै आएको उनको भनाइ छ ।
शंकरले आफ्नो इज्जतमाथि नै नानाभाँती आरोप लगाउने गरेको जेरीको भनाइ छ । जेरीले डिभोर्स रहर नभएर बाध्यता भएको बताएकी छन् ।
‘मैले कमाएको पैसा श्रीमान् र उनको आमाको नाममा राख्नुपर्ने, उनीहरूको नाममा जग्गा जमिन किन्नुपर्ने बाध्यता थियो,’ विभिन्न समयमा दिएका अन्तर्वार्तामा जेरीले भनेकी छन्, ‘श्रीमानसँग संयुक्त हुन्छ भने राख्छु, दोस्रो व्यक्ति सासुसुरासँग राख्दिनँ भन्दा डिसकस सधैँ डिसकस हुन्थ्यो ।’
आफूले कमाएको पैसा श्रीमान र उनका परिवारले नपाउँदा डिभोर्ससम्मको स्थितिमा पुगेको उनले बताएकी छन् । आफ्नो डिभोर्सको कारण श्रीमानको चरित्रमाथि उठ्ने प्रश्न पनि एक भएको बताएकी उनले सेलिब्रेटी भएको कारणले सबैसँग बोल्नु, मिल्नु र हाँसखेल गर्नु आफ्नो बाध्यता भएको सुनाइन् ।
‘मलाई चरित्रसँग जोडेर मानसिक टर्चर समेत गर्नुहुन्थ्यो । काम पर्ने सबै साथीहरूसँग जोडेर झुटो आरोप लगाउनुहुन्थ्यो,’ जेरीले भनेकी छन्, ‘त्यो किन र केका लागि मैले अहिले बुझ्दैछु ।’
उता शंकरले पनि सम्बन्धविच्छेद हुनुमा आफ्नो नभएर जेरीको दोष रहेको बताउँदै आएका छन् । जेरीकै कारण आफूहरूको सम्बन्ध दिगो नबनेको उनको भनाइ छ ।
करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका जेरी र शंकरको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगन्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरूबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।