फिफा विश्वकप फुटबलअन्तर्गत आज फाइनल खेल हुँदैछ । कतारमा जारी विश्वकपमा फ्रान्स उपाधि रक्षाका लागि मैदानमा उत्रिँदा अर्जेन्टिना पनि विश्वकपको ट्रफी उचाल्ने ध्याउन्नमा हुनेछ ।
आजको फाइनल खेल कतारको लुजेल रंगलाशालमा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । जसमा अर्जेन्टिनाका लियोनेल मेसी आकर्षणको केन्द्रमा हुनेछन् ।
त्यसो त ३५ वर्षीय मेसीले यो नै विश्वकपमा आफ्नो अन्तिम खेल हुने घोषणा गरिसकेका छन् । अर्जेन्टिना पनि मेसीको अन्तिम खेलमा विश्वकपको ट्रफी उचालेर उनको सुखद बिदाइ गर्ने ध्याउन्नमा हुनेछ ।
तर, सन् २०१८ मा विश्वकप जितेको फ्रान्सले यसपटक पनि ट्रफी उचालेर इतिहास रच्ने दाउ गरेको छ । फ्रान्सका एम्बाप्पे, ग्रिजमन तथा जिरुडलगायत खेलाडीहरू निकै राम्रो लयमा छन् ।
उता मेसीले पनि आफ्नो जादुयी खेल प्रदर्शन गरिरहेका छन् । अर्कातर्फ अर्जेन्टिनाका युवा खेलाडीहरू पनि उत्कृष्ट लयमा छन् । जसका कारण आजको फाइनल खेल निकै रोचक बन्ने देखिएको छ ।
अर्जेन्टिनाले क्रोएसिया र फ्रान्सले मोरक्कोलाई पराजित गर्दै विश्वकप फाइनलको यात्रा तय गरेका हुन् । आजको खेलसँगै फुटबलले विश्वविजेता पाउनेछ ।
क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिनाले फाइनलको यात्रा तय गर्दा मोरक्कोलाई २-० ले हराएको फ्रान्स फाइनलमा पुगेको हो । फ्रान्स र अर्जेन्टिना दुवैले २/२ पटक विश्वकप जितिसकेका छन् भने तेस्रो पटक ट्रफी उचाल्न मैदानमा उत्रँदैछन् ।
यसअघि शनिबार रातिको खेलमा मोरक्कोलाई पराजित गर्दै क्रोएसियाले तेस्रो स्थान हासिल गरिसकेको छ ।