डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको निकै प्रतिस्पर्धात्मक र रोचक खेलमा सन् २०१८ को विश्वविजेता फ्रान्सलाई अर्जेन्टिनाले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटमा २-२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त ३० मिनेटमा पनि दुवै टिमले समान १-१ गोल गरेर ३-३ को स्थितिमा पुगेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध ४-२ को नतिजा निकाल्न सफल रह्यो ।
पहिलो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै अर्जेन्टिनका डी मारियाले गोल गर्दै टिमलाई २-० को स्थितिमा पुर्याए ।
तर, दोस्रो हाफमा भने फ्रान्सले खेलमा उत्कृष्ट पुनरागमन गर्यो । दोस्रो हाफमा फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले २ गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
त्यसपछि खेल अतिरिक्त समयमा पुगेको हो ।
अतिरिक्त समयमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै पुनः ३-२ को अग्रता दिलाए । तर, त्यो लामो समयसम्म टिकेन । फ्रान्सले पाएको पेनाल्टीको सदुपयोग गर्दै एम्बाप्पेले खेललाई ३-३ को स्थितिमा पुर्याए ।
अतिरिक्त समयमा पनि खेल बराबरीमा पुगेपछि पेनाल्टीबाट विजेताको निश्चय भएको थियो । जसमा अर्जेन्टिनाले ४-२ को स्कोर गर्दै जित निकाल्यो ।
यससँगै अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको ट्रफी उचालेको छ । ३६ वर्षपछि मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले विश्वकपको उपाधि घर भित्र्याएको छ । यसअघि अर्जेन्टिनाले सन् १९७८ मा आफ्नै घरेलु मैदान र सन् १९८६ मा मेक्सिकोमा उपाधि जितेको थियो ।
पहिलो खेलमा पराजित भएर पनि विश्वकपको उपाधि सन् २०१० मा स्पेनले जितेको थियो । त्यसपछि अर्जेन्टिना पहिलो खेल हारेर पनि उपाधि उचाल्ने पहिलो टिम बनेको छ । कतार विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग पराजित भएको थियो ।
तर, त्यसपछिका सबै खेलमा उत्कृष्ट नतिजा निकाल्दै अर्जेन्टिनाले विश्वकपको ट्रफी उचालेको छ ।