भारतीय क्रिकेटर विराट कोहलीको कुल सम्पत्ति एक हजार करोड भारतीय रूपैयाँभन्दा बढी पुगेको छ । यससँगै कोहली सबैभन्दा धनी भारतीय हस्तिमध्येका एक बन्न सफल भएका छन् ।
भारतीय मिडियाहरूका अनुसार कोहलीको कुल सम्पत्ति १०५० करोड भारतीय रुपैयाँ पुगेको छ । क्रिकेट अनुबन्ध, ब्रान्ड एन्डोर्समेन्ट तथा सामाजिक सञ्जालहरूमा गरेका पोस्टमार्फत कोहलीले आम्दानी गर्दै आएका छन् । उनको कमाइको धेरै हिस्सा त्यहीँबाट हुने गरेको छ ।
त्यस्तो कोहलीले स्टार्टअपमा पनि लगानी गरेका छन् । त्यस्तै उनी १८ भन्दा बढी ब्रान्डका ब्रान्ड एम्बेस्डर हुन् ।
कोहली भारतीय क्रिकेट बोर्ड बीसीसीआई को ए प्लस ग्रेडमा छन् । जसबाट उनले वार्षिक रूपमा ७ करोड भारतीय रूपैयाँ कमाइ गर्दै आएका छन् ।
कोहलीले एक टेस्ट म्याचको लागि १५ लाख भारतीय रूपैयाँ फिस लिन्छन् । त्यस्तै कोहलीले एक वानडे इन्टरनेशनलको फिस ६ लाख भारु लिन्छन् भने एक टी-२० इन्टरनेशनल म्याचका लागि ३ लाख भारु लिन्छन् ।
त्यस्तै कोहलीले आईपीएलबाट वार्षिक १५ करोड भारतीय रूपैयाँ आम्दानी गर्दै आएका छन् ।
कोहली प्रतिविज्ञापनको एक सुटका लागि साढे ७ करोडदेखि १० करोड भारुसम्म लिन्छन् । ब्रान्ड एन्डोर्समेन्टबाट कोहलीले कुल १७५ करोड भारु लिने गरेको भारतीय मिडियाहरूले जनाएका छन् ।
त्यस्तै कोहलीले सामाजिक सञ्जालहरूमा गरेको पोस्टबाट पनि कमाइ गर्ने गरेका छन् । कोहलीले इन्स्टाग्राममा गरेको एक पोस्टका लागि ८.९ करोड भारु र ट्विटरमा गरेको एक पोस्टका लागि २.५ करोड भारु लिने गरेका छन् ।
कोहलीसँग मुम्बई र गुरुग्राममा गरी दुईवटा घर छन् । मुम्बईमा रहेको उनको घरको मूल्य ३४ करोड भारु र गुरुग्राममा रहेको उनको घरको मूल्य ८० करोड भारु रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
एक फुटबल क्लबका समेत मालिक रहेका कोहलीसँग एक रेसलिङ टिम र एक टेनिस टिम पनि छ । उनीसँग ३१ करोड भारु पर्ने विलासी कार पनि रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।