हिमालय एअरलाइन्सले काठमाडौं-बेइजिङ नियमित उडान सञ्चालन गर्ने भएको छ ।
यो नयाँ सेवाले काठमाडौं आउन चाहने चिनीयाँ र बेइजिङ जान चाहने नेपाली दुवैलाई सहज हुने एयरलाइन्सले जनाएको छ । यो सेवाले काठमाडौं-बेइजिङ आउजाउ गर्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्ने एयरलाइन्सको विश्वास छ ।
यो रुटको उडान पुनः सुरु हुँदा नेपालको पर्यटन र व्यापारमासमेत टेवा पुग्ने एअरलाइन्सको विश्वास रहेको छ ।
काठमाडौ-बेइजिङ-काठमाडौं रुट जुन २४, २०२३ देखि हरेक शनिबार सञ्चालनमा आएको छ । चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, हिमालय एअरलाइन्सको पहिलो उडानबाट बेइजिङ प्रस्थान गरे ।
काठमाडौं-बेइजिङको उडान अवधि ४ घण्टा ४५ मिनेटको रहने एयरलाइन्सले जनाएको छ । साथै बेइजिङबाट फर्कने उडान, एच नाइन ६६६, स्थानीय समय अनुसार दिउँसो ३ बजेर २५ मिनेटमा प्रस्थान गर्ने तालिका रहेको छ जुन बेलुका ६ बजेर ३० मिनेटमा काठमाडौंमा अवतरण हुने एयरलाइन्सले जानकारी दिएको छ ।
'काठमाडौं र बेइजिङबीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छौँ । यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्न समेत यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हुँदा कोभिड - १९ को महामारीपछि यस रुटमा उडानहरू पुनः सुचारु हुनु महत्त्वपूर्ण छ,' एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने ।