नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोटको समूह चरणबाट बाहिरिएपछि खेलाडीहरूको हौसला बढाउँदै एउटा असफलता यात्राको अन्त्य नभएको टिप्पणी गरेका छन् ।
शनिबार भएको खेलमा नेदरल्यान्डस्सँग पराजित भएसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको हो । यससँगै सन् २०२३ मा हुने एक दिवसीय विश्वकपमा नेपालले सहभागी हुन पाउने अवसर गुमाएको छ ।
सोही प्रसँगमा टिप्पणी गर्दै ओलीले एउटा असफलता नै यात्राको अन्त्य नभएको उल्लेख गरेका हुन् । परिणाम प्राप्त हुन नसके पनि नेपाली टिमले राम्रो मेहनत गरेको ओलीको भनाइ छ ।
'कहिलेकाहीँ मेहनतका बाबजूद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन,' ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन । मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम !'
साथै ओलीले यात्रा जारी रहेको उल्लेख गरेका छन् । आफूले नेपालको खेल लाइभ हेरेको प्रतिक्रिया दिँदै नेट स्लो भएकाले केही डिस्टर्ब भएको गुनासो पनि गरे ।
'हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईव हेरेँ । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरेँ,' उनले भनेका छन्, 'आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ ।'
साथै ओलीले नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी खेलाडीहरूसँग भेट्ने बाचा पनि गरेका छन् । 'एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ,' ओलीले फेसबुकमा लेखेका छन् ।