काठमाडौं । सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ ।
यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन् ।
दुर्घटना न्यूनीकरण गर्न भन्दै प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउन्टेन, सिलिङ (सामान झुन्ड्याएर गरिने लङलाइन उडान) र पुष्पवृष्टि उडानमा रोक लगाउने निर्णय गरेको छ ।
मनसुन प्रतिकूल रहेका बेला उडान गर्दा जोखिम आउन सक्ने भएकाले रोक लगाइएको प्राधिकरणको दाबी छ । क्यानमाथि आफ्नो कमजोरी लुकाउन उडानमा रोक लगाएको आरोप छ ।
दुर्घटनाको कारण देखाउँदै हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाउनु नियमनकारी निकायको हतास मानसिकता भएको क्यानका एक पूर्वमहानिर्देशकले बताए ।
‘अपरेसनमा ध्यान दिनुपर्ने कुरालाई कार्यान्वयनमा ल्याउने कुरा उचित हो,’ ती महानिर्देशकले भने, ‘उडानमै रोक लगाउने निर्णय अव्यावहारिक छ ।’
पहाडी इलाका भएका अन्य मुलुकमा पनि यस्तो अभ्यास नभएको उनले बताए । ‘हेलिकोप्टर कम्पनीले एभिएसन र आइकाउको नियम पालना गर्नुपर्छ,’ ती महानिर्देशकले भने, ‘नियमनकारी निकायले हतासमा निर्देशन दिने निर्णय गलत छ।’ क्यानले सुरक्षा मापदण्ड कार्यान्वयनमा ल्याउने, अनुगमन गर्ने काम गर्नुपर्ने उनले बताए ।
दुर्घटनाको कारण देखाउँदै पर्वतीय उडानमा रोक लगाउनु वैज्ञानिक र व्यावहारिक नभएको फिस्टेल एयरका अध्यक्ष एवं क्याप्टेन विकास राणाले बताए । ‘सिभिल एभिएसनको नियम मान्न हेलिकोप्टर सञ्चालक तयार छौं,’ थापाले भने, ‘दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्नेमा उडानमै रोक लगाउने निर्णय अव्यावहारिक छ ।’
दुर्घटना छानबिन गरेर कारण पत्ता लगाउनुपर्नेमा उडानमै रोक लगाउने निर्णय गलत भएको उनले बताए ।
यो समाचार नागरिक दैनिकमा छ ।