काठमाडौं । नेपाल जारी एसिया कप क्रिकेटबाट बाहिरिएको छ । क्रिकेटका महाशक्तिका रूपमा चिनिने भारत र पाकिस्तानसँग पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको हो ।
प्रतियोगिताबाट बाहिरिए पनि नेपालले क्रिकेटको क्षेत्रमा राम्रो छाप छाड्न सफल भएका छन् । पाकिस्तान र भारतलाई कुनै समय नेपाली क्रिकेटरले आच्छु-आच्छु पारेका थिए ।
एसिया कपमा आफ्नो पहिलो खेल पाकिस्तानविरुद्ध खेलेको नेपालले पाकिस्तनविरुद्ध उत्कृष्ट सुरुवात गरेको थियो । टस जितेर पाकिस्तानले पहिले ब्याटिङ रोज्दा नेपाली बलरले सुरुवाती समयमा पाकिस्तानी ब्याट्सम्यानलाई हैरान पारेका थिए ।
नेपाली बलहरूको उत्कृष्ट सुरुवातका कारण पाकिस्तनले ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रनको स्कोर खडा गरेको थियो । ३४३ रनको जवाफी ब्याटिङमा उत्रिएको नेपाल २३.४ ओभरमा १०४ रन बनाउँदै अल आउट भयो ।
पाकिस्तनसँगको खेलपछि नेपाली बलरहरूले शक्तिशाली टिमविरुद्ध पनि कुशल प्रदर्शन गर्न सक्छौँ भन्ने सन्देश दिए । पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिकार अहमदले सम्हालिएको प्रदर्शन गर्दै टिमलाई विशाल स्कोरतर्फ अग्रसर बनाए पनि कुनै समय पाकिस्तान दबाबमा परेको देखिन्थ्यो ।
उता भारतविरुद्धको खेलमा भने नेपाली ब्याटरहरूले आफ्नो कुशलता प्रदर्शन गरे । भारतविरुद्ध ४८.२ ओभरमा अलआउट हुँदा २३० रनको प्रतिस्पर्धी स्कोर बनाउन नेपाली टिम सफल भएको थियो । भारतसँग पनि नेपाल पराजित त भयो तर, नेपाली ब्याटरहरूले आफूलाई सिद्ध गरेर देखाए ।
यसरी हेर्दा नेपाली क्रिकेट टिमले पाकिस्तानविरुद्ध बलिङमा र भारतविरुद्ध ब्याटिङमा आफूलाई सिद्ध गरेर देखाए । जसका कारण नेपालले भलै पराजय ब्यहोरेको होस् तर नेपाली क्रिकेट टिमको प्रशंसा भइरहेको छ ।
भारत र पाकिस्तानको तुलनामा नेपाली क्रिकेटको खासै विकास भइसकेको छैन । खेलाडीहरूको जीवन निर्वाह, भौतिक पूर्वाधार तथा क्रिकेटमा गरिएको लगानी निकै कम छ । यस्तो अवस्थामा पनि भारत र पाकिस्तान जस्ता क्रिकेटका महारथीलाई टक्कर दिनु र कुनै एक समय दबाबमा पार्न सक्नुलाई भने नेपाली क्रिकेटको सकारात्मक पक्ष र सुखद भविष्यको संकेतका रूपमा धेरै क्रिकेट विश्लेषकहरूले अर्थ्याएका छन् ।