काठमाडौं । त्यसो त विराट कोहली क्रिकेटका सफलतम खेलाडीमध्ये एक हुन् । उनी भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत हुन् ।
उनै कोहलीको सन्यासलाई लिएर चासो बढेको छ । खासगरी उनका नजिकका साथी र भारतीय मिडियाहरूले पनि कोहलीको सन्यासलाई लिएर विभिन्न खाले समाचारहरू प्रकाशित गरिरहेका छन् ।
दक्षिण अफ्रिकाका क्रिकेटर तथा कोहलीका मित्र एबी डिविलियर्सले कोहलीको सम्बन्धमा एक भविष्यवाणी गरेको भारतीय समाचार संस्था नवभारत टाइम्सले समाचार प्रकाशित गरेको छ ।
डिविलियर्सले आगामी विश्वकपपछि कोहलीले एक दिवसीय (वान डे) क्रिकेटबाट सन्यास लिए आस्चर्य नहुने टिप्पणी गरेका छन् ।
क्रिकेटका टेस्ट, वान डे र टी-२० जस्ता सबै फर्म्याटमा सफल रहेका कोहली अहिले पनि उही रफ्तारमा छन् । पूर्वभारतीय कप्तान अहिले पनि धेरैका लागि पहिलो रोजाइका खेलाडीका रूपमा स्थापित पनि छन् ।
भारतमा आयोजना हुन लागेको एक दिवसीय क्रिकेट विश्वकप के भारतले जित्ला ? यसमा तर्क वितर्क हुन सक्छन् । अनि भइरहेका पनि छन् । यसबारेमा डिविलियर्सले भनेका छन्- यदि भारत विश्वविजेता बनेमा कोहलीले सन्यास लिने बारेमा विचार गर्नेछन् ।
डिविलियर्सले भनेका छन्- कोहली लागि सन् २०२७ मा आयोजना हुने विश्वकपका लागि अफ्रिकाको यात्रा तय गर्न चाहन्छन्, तर यसो भन्नु मुस्किल हुनेछ । किनकी यसका लागि धेरै समय बाँकी छ ।
डिविलियर्सले भनेका छन्- मलाई लाग्छ यदि यो विश्वकप जितेमा सन्यास घोषणा गर्नका लागि कुनै खराब समय भने हुनेछैन । मलाई के लाग्छ भने विराटले यही कुरा गर्नेछन् ।