सिरहा । सिरहा भन्सार कार्यालय, माडरले विभिन्न समयमा भन्सारमा बुझाइएका सवारी साधनको लिलामी प्रक्रिया अगाडि नबढाउँदा लाखौं मूल्यका सवारी साधनहरु कवाडी बन्दै गएको छ ।
लिलामी प्रक्रियाका लागि भन्सार परिसरमा दुई दर्जन चार पाङ्ग्रे तथा एक सयभन्दा बढी दुई पाङ्ग्रे मोटरसाइकलहरु खुला आकाशमुनि यत्रतत्र थुपारिएर राखिएका छन् ।
पहिलेकै सवारी साधन लिलामी प्रक्रियामा नजाँदा नयाँ बुझाइने सवारी साधनको लागि भन्सार परिसरमा राख्ने ठाउँको समेत अभाव छ ।
भन्सार परिसरमा बुझाइएका सवारी साधनहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भन्सार कार्यालय आफैंले भारतीय बजारबाट भन्सार छली गरी बरामद भएका तस्करीका मालसमान बोकी आएको जीप, कार, भ्यान, म्याजिक, मिनी ट्रक तथा मोटरसाइकलहरु हुन् ।
मुद्दाको दशीको रुपमा बुझाइएका ती सवारी साधनहरु सम्बन्धि मुद्दाको टुंगो लागिसके पनि सवारी साधनको टुंगो लागेको छैन ।
मुद्दामा जफत गरिएका सवारी साधनको लिलामी प्रक्रिया अगाडि नबढ्दा अधिकांश सवारी साधनहरुको मोटरपार्ट्स खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेको छ ।
कसूर ठहर भई जफत भएका सवारी साधन लिलामी गरी त्यसबाट प्राप्त हुने आम्दानी राज्यको राजस्व खातामा जाने कानूनी प्रावधान छ तर भन्सार कार्यालयले लिलामीको प्रक्रिया अगाडि नबढाएकोले उक्त सवारीसाधन कवाडीको अवस्थामा पुग्न लगेर राज्यलाई हुने आम्दानीसमेत प्राप्त नहुने अवस्थामा छ ।
‘समयमै ती सवारी साधनहरु लिलामी हुने हो भने तिनीहरुको राम्रो मूल्य लाग्न सक्थ्यो,’ सिरहा सदरमुकामका मोटरपार्ट्सका व्यवसायी शम्भु साहले भने, ‘भन्सार कार्यालयले लिलामीप्रति बेवास्ता गर्दा अब ती सवारी साधनहरु कुहिएर कवाडीको भाउँमा बेच्नुपर्ने अवस्था आउन सक्छ ।
करौडौं मूल्यका सवारीसाधन अहिले कवाडी बन्दै गए पनि भन्सार कार्यालयका प्रमुख मानबहादुर पौडेल त्यसको दोष अन्यत्रै लगाउँछन् ।
‘हाम्रो कार्यालयमा प्राविधिक नभएकोले लिलामी प्रक्रियाका लागि यातायात व्यवस्था कार्यालयलाई प्राविधिक पठाइदिन आग्रह गरिरहेका छौ तर त्यहाँबाट आउने प्राविधिकले त्यति वास्ता नगरेकोले लिलामी प्रक्रियाका लागि ढिलाई भइरहेको छ’, सिरहा भन्सार प्रमुख पौडेलले भने, ‘एक वर्ष अगाडि एक पटक यातायात व्यवस्था कार्यालयलाई पत्र पठाएको छु, त्यसपछि मौखिक रुपले पनि मूल्याङ्कन गर्न आग्रह गरिरहेको छु तर त्यहाँबाट कुनै प्राविधिक पठाइएको छैन ।’
गोरखापत्र दैनिकबाट ।