काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरिरहेको छ । हालसम्म भारतले समूह चरणमा ८ खेल खेलेको छ भने सबै खेलमा जित निकालेको छ ।
समूह चरणका सबै खेल जित्ने भारत एक मात्र टिम बनेको छ । यस्तोमा भारत अब समूह चरणको शीर्ष स्थानमा रहँदै सेमीफाइनलमा पुग्ने देखिएको छ ।
भारतले अहिलेसम्मका खेलमा सबै नतिजा एकतर्फी रूपमा आफ्नो पक्षमा पारेको छ । विरोधी टिमविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै भारतले उनीहरूलाई धरासयी बनाएको छ ।
तर, विगत हेर्ने हो भने समूह चरणमा शीर्ष स्थानमा रहनु भारतका लागि सुखद देखिएको छैन । सन् २०१५ र सन् २०१९ को विश्वकपको नतिजा हेर्ने हो भने समूह चरणमा शीर्ष स्थानमा रहनु भारतका लागि सुखद देखिएको छैन ।
सन् २०१५ को विश्वकप क्रकेटमा भारत समूह चरणमा शीर्ष स्थानमा थियो । भारत बी ग्रुपको सबै ६ म्याचमा जित निकाल्दै शीर्ष स्थानमा रहेको थियो । तर, सेमिफाइनलमा अस्ट्रेलियासँग ९५ रनले भारत स्तब्ध भएको थियो ।
त्यस्तै सन् २०१९ मा पनि भारत समूह चरणमा शीर्ष स्थानमा थियो । २०१९ को विश्वकप राउन्ड रोबिनको फर्म्याटमा खेलाइएको थियो । त्यसबेला भारतले ९ खेलमध्ये ८ खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर सेमिफाइलन पुगेको थियो । तर, सेमिफाइनलमा भने भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।
यसैलाई आधार बनाएर समूह चरणमा शीर्ष स्थानमा रहनु भारतीय टिमका लागि सुखद संकेत नभएको विश्लेषणसहितको समाचार भारतीय मिडियाहरूले प्रकाशित गरेका छन् ।
तर, कतिपय के भन्छन् भने विगतमा जे भयो यसपटक पनि त्यही हुन्छ भन्ने अवस्था छैन । किन पनि भने आँकडा बदलीन पनि सक्छ । त्यसैले समूह चरणमा शीर्ष स्थानमा रहनु भारतका लागि असुभ भन्न मिल्दैन ।