काठमाडौं । रानी मुखर्जी बलिउडकी चर्चित हिरोइन हुन् । उनले आफ्नो करियरमा थुप्रै हिट फ्लिममा काम गरेकी छन् ।
तर, केही यस्ता फ्लिम पनि छन् जसमा अभिनय गर्न उनी स्वयंले अस्वीकार गरेकी थिइन् वा त्यसको हिस्सा बन्न पाएकी थिइनन् । तीनै चलचित्र पछि आएर सुपरहिट बनेका थिए ।
त्यसमध्ये बलिउडका नायक आमिर खानको चलचित्र लगान पनि एक हो । मुखर्जीले अहिले आएर लगानमा अभिनय नगर्नुको कारणबारे खुलासा गरेकी छन् ।
गोवामा ५४औँ अन्तर्राष्ट्रिय फ्लिम समारोहमा एक सेसनका क्रममा मुखर्जीले यसबारेमा मुख खोलेकी हुन् । मुखर्जीका अनुसार लगानको प्रस्ताव आउनुअघि उनले अन्य केही चलचित्रमा पनि साइन गरिसकेकी थिइन् ।
अर्कातर्फ आमिर खानले यस चलचित्रबाट डाइरेक्सनमा डेब्यु गर्दै थिए, जसका कारण उनका पनि केही सर्त थिए । उनले उक्त चलचित्रको हिस्सा बन्न नपाएको पछुतो लागेको पनि उल्लेख गरेकी छन् ।
‘एक मात्र यस्तो फ्लिम जसको हिस्सा बन्न नपाएकोमा म दुर्भाग्यपूर्ण महसुस गर्दछु । उक्त चलचित्रबाट आमिर खान निर्माता बन्दै थिए, सोहीकारण उनले मसँग लगानको सुटिङ विशेष रूपले हुने बताएका थिए,’ मुखर्जीले भनिन्, ‘त्यसका लागि पूरै टिम ६ महिनासम्म कुनै ठाउँमा रहनु आवश्यक छ । तर त्यसबेलासम्म मैले केही अन्य चलचित्रमा पनि साइन गरिसकेको थिएँ ।’
मुखर्जीले आफू लगानको हिस्सा बन्न चाहेको तर त्यसबेलाको परिस्थितिका कारण त्यसो हुन नसकेको बताइन् । लगानमा अभिनय गर्नकै लागि आफूले त्यसअघि साइन गरेका चलचित्रका निर्मातासँग कुरा पनि गरेको उनले उल्लेख गरेकी छन् ।
‘मैले जुन फ्लिम साइन गरेको थिएँ, त्यसका निर्मातालाई सोधेँ कि म यो फ्लिमको छोड्न सक्छु भनेर । किनकी म आमिर खानको फ्लिममा काम गर्न सकुँ,’ मुखर्जीले भनिन्, ‘तर, दुःखको कुरा यो हो कि मैले साइन गरिसकेको थिएँ अनि निर्माताले मेरो कुरा अस्वीकार गरिदिए ।’
आमिर खानको लगानि १५ जुन २००१ मा रिलिज भएको थियो । यो चलचित्रमा आमिरको अभिनयको निकै तारिफ भएको थियो । साथै यो चलचित्र निकै हिट भएको थियो भने यसले नेशनल वार्ड पनि पाएको थियो ।