काठमाडौं । माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएपछि धेरैले यसबारे फरक-फरक धारणा राख्न थालेका छन् । कतिपयले यसमा माओवादी केन्द्रलाई दोष देखाएका छन् भने कतिपयले कांग्रेसका कारण माओवादीले गठबन्धन तोडेको प्रतिक्रिया दिएका छन् ।
खासगरी नेपाली कांग्रेसले सरकार सञ्चालनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई असहयोग गरेको माओवादीको भनाइ छ । विवादित मन्त्रीहरूलाई हटाउन पटक-पटक आग्रह गर्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले असहयोग गरेको माओवादी नेताहरूको आरोप छ ।
त्यस्तै गृह मन्त्रालयले भ्रष्टाचार र अनियमितताविरुद्ध एक्सन लिँदा पनि कांग्रेसले त्यसमा व्यवधान सिर्जना गरेको माओवादी नेताहरूको आरोप छ । उता कांग्रेसका नेताहरू भने प्रचण्डले अनाहकमा गठबन्धन तोडेको टिप्पणी गर्न थालेका छन् ।
अर्कातर्फ गठबन्धन टुटाउन एमालेको भूमिका पनि प्रमुख रह्यो । कांग्रेसले सरकारलाई असहयोग गरिरहेका बेलामा प्रचण्डलाई एमालेले विश्वासमा लिएर कांग्रेसलाई सत्ताबाहिर पुर्याइदिएको छ ।
यसबारेमा कांग्रेस नेता डा. शेखर कोइरालाले गठबन्धन टुट्नु सामान्य घटना भए पनि सोमबारको परिस्थिति भने सामान्य नरहेको टिप्पणी गरेका छन् ।
कोइरालाले फेसबुकमा लेखेका छन्:
राजनीतिमा गठबन्धन वन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन । कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो । यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।
यता नयाँ सत्ता गठबन्धनमा रहेका चार दल एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाले ८ बुँदे सहमति गरेका छन् । त्यसका साथै अन्य दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउने उनीहरूको भनाइ रहेको छ ।