काठमाडौं । हङकङमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि पपुवा न्युगिनीले जितेको छ ।
फाइनलमा पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन जोडेको थियो । १७२ रनको विजय लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रन बनाउँदै अलआउट भएको हो । यससँगै पीएनजीले उपाधि जितेको हो ।
नेपालका कुशल भुर्तेल ५ र विनोद भण्डारी ४ रनमा आउट भए । त्यस्तै कप्तान रोहित पौडेलले १२ रन जोड्दा गुल्सन झा ६ रन बनाउँदै पेभेलियन फर्किए । त्यस्तै आरिफ शेखले १५, सन्दिप जोराले १७, विवेक यादवले १ रन जोडे भने लोकेश वम ६, करण केसी ३ रन बनाउँदै आउट भए । प्रतिश जीसीले कुनै पनि रन स्कोर गर्न नसक्दा आकास चन्द शून्य रनमा नटआउट रहे ।
बलिङतर्फ पीएनजीका काबुवा मोरिया, सेमो कामिया, चाड सोपेर तथा सेसे बाउले समान २/२ विकेट लिए । त्यस्तै एले नाओले १ विकेट लिएपछि नेपाल सस्तैमा समेटिएको हो ।
यसअघि फिल्डिङ गरेको नेपालका आकाश चन्द र कुशल भुर्तेलले ३/३ विकेट लिए भने करण केसी र गुल्सन झाले १/१ विकेट लिए ।
ब्याटिङतर्फ पीएनजीका टोनी उराले ६१ रन बनाए । त्यस्तै असद भाला र लेगा सैकाले २/२ रन जोडे भने हिरी हिरीले १५, हिला भारे १८, चाड सोपेर १३, किप्लिन दोरिगा १४, एले नाउ ३० तथा काबुवा मोरियाले ३ रन बनाए ।