काठमाडौं । पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ ।
चैत्र १६ देखि १८ सम्म अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरू प्रदर्शन गरिनेछ ।
महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ति प्रिय, जय निशान्त र सुवास प्रधान रहेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर छन् ।
तीन दिने चलचित्र महोत्सवमा फिल्म प्रदर्शनसँगै प्यानल डिस्कसन र मास्टर क्लास पनि राखिएको छ । चलचित्र विकास बोर्डमा मार्च ३० अर्थात् चैत्र १७ मा सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्र सम्बन्धी कार्यशाला दिनेछिन् भने मार्च ३१ मा भारतका मुश्ताक अली अहमद खानले मास्टर क्लास दिने भएका छन् ।
महोत्सवको आयोजक रहेको नेपाल संस्कृति तथा चलचित्र केन्द्रले महोत्सवको तालिकासमेत सार्वजनिक गरेको छ । महोत्सवमा नेपाली चलचित्र चिसो मान्छे, महापुरुष, छक्का पञ्जा ४ लगायत अन्य विभिन्न विधाका चलचित्रहरूका साथै विदेशी ३ दर्जनजति चलचित्रहरू समावेश भएका छन् ।
कुनै पनि चलचित्रहरू हेर्न पैसा नलाग्ने र कार्यक्रममा प्रवेश निःशुल्क रहेको जनाइएको छ । जसका कारण सर्वसाधारण, विद्यार्थी, चलचित्रकर्मीलगायत सबैलाई समान रूपमा समेट्न सकिने आयोजक टीमले बताएको छ ।
मानवअधिकार, सामाजिक न्याय र दिगो विकासका विषयलाई केन्द्रमा राखेर चलचित्र महोत्सवको आयोजना गर्न लागिएको नेपाल संस्कृति तथा चलचित्र केन्द्र (एनसीएफसी) ले जनाएको छ । चलचित्र महोत्सवको अन्तीम दिन सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरूको मूल्याङ्कनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत समेत गरिनेछ ।
यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्र मात्र नभएर उत्कृष्ट महिला चलचित्र, उत्कृष्ट बालबालिका चलचित्र, उत्कृष्ट सांस्कृतिक चलचित्र, उत्कृष्ट वातावरणीय चलचित्र, उत्कृष्ट डकुमेन्ट्री लगायत धेरै विधाहरू भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्त्वपूर्ण रहेको महोत्सव निर्देशक सन्तोष सुवेदी बताउँछन् ।