काठमाडौं । बिहीबार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल गिरफ्तार भएका छन् ।
उनीभन्दा अघि उनको पार्टी आम आदमीका महत्त्वपूर्ण नेता तथा पूर्व स्वास्थ्यमन्त्री सत्येन्द्र जैन, दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया तथा राज्यसभा सांसद सञ्जय सिंह पनि गिरफ्तार भइसकेका छन् ।
यसरी आम आदमी पार्टीका शीर्ष नेता तथा दिल्ली सरकारका महत्त्वपूर्ण सदस्यहरू एकपछि अर्को गर्दै गिरफ्तार भइरहँदा दिल्ली सरकार कसरी चल्छ भन्ने चासो बढेको छ । जसका कारण केजरीवालको अनुपस्थितिमा दिल्ली सरकार र आम आदमी पार्टीको नेतृत्व कसले गर्ला भन्ने चासो पनि बढेको छ ।
अर्कातर्फ लोकसभा चुनाव नजिकिएसँगै आम आदमी पार्टीले त्यस्तो विकल्प झन् छिटो खोज्नुपर्ने बाध्यता देखिएको छ ।
आम आदमी पार्टी दिल्ली, पञ्जाब, हरियाणा तथा गुजरातमा पार्टीको चुनावी अभियान सुरु गर्ने तयारीमा थियो । र, प्रायः ती सबै अभियानका स्टार प्रचारक केजरीवाल हुनेवाला थिए । तर, केजरीवालको गिरफ्तारीसँगै उक्त स्थानको पूर्ति कसले गर्ला र आम आदमीले कसलाई अघि सार्ला भन्ने चासो बढ्नु स्वाभाविक पनि हो ।
बीबीसीका अनुसार केजरीवालको गिरफ्तारीको आशंकाकाबीच नेतृत्वको विषयलाई लिएर आम आदमीमा जुन चर्चा भइरहेको थियो त्यसमा केजरीवालकी पत्नी सुनिता केजरीवालको नाम पनि सामेल छ । त्यस्तै दिल्ली सरकारको मन्त्री रहेका अतिशी तथा सौरभ भारद्वाजको नाम पनि यही पङ्क्तिमा रहेको छ ।
दिल्ली सरकारमा अतिसी र भारद्वाज दुवै महत्त्वपूर्ण जिम्मेवारीमा छन् । त्यसमा पनि अतिसीलाई केजरीवालको सबभन्दा बढी निकटका नेतामध्येमा मानिन्छ ।
तर, अतिसी र भारद्वाज दुवैले पक्राउ परे पनि केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा नदिने बताएका छन् ।
बीबीसीका अनुसार आतिसीले भनेका छन्- आवश्यक परेमा केजरीवालले जेलबाटै सरकार चलाउनेछन् । जेलबाट सरकार चलाउन प्रतिबन्ध लगाउने कुनै कानुन छैन । केजरीवाल मुख्यमन्त्री थिए, रहनेछन् ।
केजरीवालको गिरफ्तारीसँगै आम आदमीले भारतीय सर्वोच्च अदालतमा यसबारेमा निवेदन दिइसकेको छ । अतिसीका अनुसार सर्वोच्च अदालतमा यस विषयमा तत्काल सुनुवाइका लागि अपिल गरिएको पनि जानकारी गराएका छन् ।