काठमाडौं । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले आफू लोकसभा चुनाव नलड्ने बताएकी छन् । भारतकी केन्द्रीय वित्तमन्त्री सीतारमणले आफू लोकसभा चुनाव नलड्ने निष्कर्षमा पुगेको बताएकी हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमा उनी लगातार महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा छन् । मोदीको पहिलो कार्यकालमा उनी रक्षामन्त्री थिइन् भने दोस्रो कार्यकालमा वित्तमन्त्री बनेकी थिइन् ।
सीतारमणले बुधबार चुनाव नलड्नुको कारण पनि बताएकी छन् । त्यसमा पहिलो कारणका रूपमा उनले प्रस्तुत गरेकी छन्- चुनाव लड्नका लागि उनीसँग आवश्यक पैसा नहुनु ।
अहिले राज्यसभा सांसदसमेत रहेकी उनी आन्ध्र प्रदेश या तमिलनाडुबाट चुनाव लड्नसक्ने अड्कल गरिएको थियो । तर, उनले आन्ध्र प्रदेश, तमिलनाडु जस्ता दक्षिणी राज्यमा जितका लागि जे मापदण्ड हुन्छन् त्यसमा आफू खरो उत्रन नसक्ने पनि उनको भनाइ रहेको बीबीसीले जनाएको छ ।
यही १९ अप्रिलदेखि भारतमा लोकसभाको चुनाव हुँदैछ । सोही सन्दर्भमा समाचार च्यानल टाइम्स नाउसँगको कुराकानीमा सीतारमणले उक्त कुरा बताएकी हुन् ।
एक प्रश्नको जवाफ दिँदै उनले भनेकी छन्- पार्टीले मलाई चुनावका विषयमा सोधेको थियो । तर, हप्ता-१० दिन सोचेर मैले चुनाव नलड्ने जानकारी गराएँ । पार्टी अध्यक्षले मलाई दक्षिणका राज्यहरू तमिलनाडु या आन्ध्र प्रदेशबाट चुनाव लड्नुहुन्छ भनेर सोध्नुभएको थियो ।
उनले अगाडि भनेकी छन्- चुनाव लड्नका लागि मसँग आवश्यक पैसा छैन । यसका साथै तमिलनाडु या आन्ध्र प्रदेशमा चुनाव जित्नका लागि जुन मापदण्ड आवश्यक हुन्छ, त्यसमा सायद म खरो उत्रिन सक्दिनँ ।
साथै उनले आफ्नो चुनाव नलड्ने निर्णय स्वीकार गरेकोमा पार्टी अध्यक्षलाई धन्यवाद पनि दिइन् । उनले आफू चुनाव नलड्ने फेरि एकपटक दोहोर्याइन् ।
राज्यसभामा सन् २०२८ सम्म उनको कार्यकाल रहेको छ । सीतारमण भारतकी पहिलो महिला वित्तमन्त्री हुन् । यसअघि इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा केही समयका लागि वित्ता मन्त्रालयको जिम्मेवारी पनि आफैँसँग राखेकी थिइन् । त्यसबाहेक वित्त मन्त्रालयको नेतृत्व गर्ने पहिलो महिला हुन् सीतारमण ।