काठमाडौं । आईपीएल २०२४ को सुरुवातदेखि धेरैलाई जुन दिनको प्रतीक्षा थियो, आइतबार राति उक्त दिन आयो ।
जब दिल्ली क्यापिटल्सविरुद्ध चेन्नई सुपरकिङ्सका महेन्द्रसिंह धोनी ब्याटिङका लागि मैदानमा उत्रिए त्यसबेला स्टेडियमको माहोल अर्कै बन्यो । अनि धोनीले आईपीएल २०२४ मा आफूले सामना गरेको पहिलो बलमै चौका ठोकिदिए ।
त्यसपछि उनका फ्यान्सलाई के चाहियो र ? पूरा स्टेडियममा एउटै नारा लागिरहेको थियो- धोनी धोनी ।
आइतबार धोनीले भलै आफ्नो टिमलाई जित दिलाउन सकेनन् तर, आफ्नो विस्फोटक 'अन्दाज'ले आफ्ना समर्थकहरूको फेरि एकपटक मन जिते । धोनीले १६ वलको सामना गर्दै ३ छक्का र ४ चौका प्रहार गरे । उनले नटआउट ३७ रन बनाए ।
यद्यपि दिल्लीले चेन्नईविरुद्ध २० रनको जित निकाल्यो । दिल्लीले निर्धारित २० ओभरमा १९१ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १७१ रन मात्र बनाउन सक्यो । दिल्लीका कप्तान ऋषभ पन्तको अर्धशतकीय पारीको धेरै प्रशंसा भइरहेको छ ।
दिल्लीविरुद्ध चेन्नईले खराब ब्याटिङ सुरुवात गरेको थियो । कप्तान ऋतुराज गायकवाड १ रन र रचिन रविन्द्र २ रनमा आउट भए । तर, तेस्रो विकेटका लागि भने डेरी मिचेर र अजिङ्क्या रहानेबीच राम्रो साझेदारी भएको थियो ।
चेन्नई र दिल्लीको खेलमा जसरी धोनी र पन्तको ब्याटिङको चर्चा भइरहेको छ उसै गरी मथिसा पथिरानाको बलिङको चर्चा पनि भइरहेको छ । उनले घातक बलिङ गर्दै तीन विकेट लिए भने एउटा उत्कृष्ट क्याच लिएका थिए ।