काठमाडौं । इन्डियन प्रिमियर लिगअन्तर्गत मंगलबार राति लखनउ सुपर जायन्टस र रोयल च्यालेन्जर्स बैंगलुरुबीच 'हाइ भोल्टेज गेम' भयो । यो खेलमा लखनउले बैंगलुरुलाई यो सिजनको तेस्रो हारको सिकार बनायो ।
यसअघि चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्ससँग पराजित भइसकेको बैंगलुरुको यो तेस्रो हार हो । बैंगलुरुले पञ्जाब किङ्सविरुद्ध भने जित निकालेको थियो ।
लखनउका तीव्र गतिका बलर मयंक यादवले आईपीएलमा जुन दबदबा बनाएका छन्, त्यो बैंगलुरुसँगको खेलमा पनि देखिएको छ । उनले आफ्नो प्रदर्शनले धेरैको मन जितेका छन् ।
मयंकले आरसीबीविरुद्ध भएको खेलमा आईपीएल २०२४ को हालसम्मको सर्वाधिक तीव्र गतिमा बलिङ गरे । उनले आरसीबीविरुद्ध १५६.७ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए । मयंकले पहिले ग्लेन म्याक्सवेललाई आउट गरे । दुई बलको सामना गरेका म्याक्सवेल एक रन पनि बनाउन नसकी पेभेलियन फर्किए ।
त्यसपछि मयंकले क्यामरन ग्रिनलाई आफ्नो सिकार बनाए । मंयकको बल ग्रिनले खेल्न सकेनन् र बलिङको गतिमा चक्मा खाँदै क्लिन बोल्ड भए । मयंकले त्यसपछि रजत पाटिदारलाई आउट गरे । उनले ४ ओभर बलिङ गर्दा जम्मा १४ रख खर्चिंदै ३ विकेट लिए ।
आरसीबीका कप्तान फाफ डुप्लेसीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका थिए । ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनायो ।
जवाफी ब्याटिङमा उत्रिएको आरसीबी लखनउको कसिलो बलिङका अगाडि टिक्न सकेन । र, १९.४ ओभरमा १५३ रन बनाउँदै अलआउट भयो ।
लखनउका लागि मयंकका अलावा नवीन उलहकले २ विकेट लिए । त्यस्तै मणिमारन सिद्धार्थ, यस ठाकुर तथा मार्कस स्टोइनसले एक/एक विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउका क्विन्टन डिककले सम्हालिएको पारि खेल्दै टिमको जितमा अहम् भूमिका निर्वाह गरे । उनले ८१ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कप्तान केएल राहुलले २० रन जोड्दा देवदत्त पाडिकल ६ रन बनाउँदै आउट भए ।
त्यस्तै मार्कस स्टोइनसले १५ बलमा २४ रन जोडे भने आयुश बधोनी शून्य रनमा आउट भए भने कुणाल पाण्ड्याले पनि रन बनाउन पाएनन् । क्रिजमा उत्रिएका कुणालले कुनै बल सामना गर्न पाएनन् ।
लखनउका निकोलस पुरनले उत्कृष्ट फिनिसिङ गर्दै २१ बलमा ४० रन जोड्दै अविजित रहे ।