काठमाडौं । छिन्नलता गीत पुरस्कार गुठीले वि.सं. २०८० को लागि छिन्नलता गीत पुरस्कारबाट सम्मानित हुने श्रष्टाहरूको नाम सार्वजनिक गरेको छ ।
२०८० को छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीतमा चण्डी काफ्ले र गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने निर्णय भएको गुठीले जानकारी दिएको छ ।
छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न साधारणसभाले २०७९ र २०८० दुवै वर्षको छिन्नलता गीत पुरस्कार विभिन्न आठ जनालाई प्रदान गर्ने निर्णय गरेको हो ।
गुठीका अनुसार लोकप्रिय युवाप्रतिभा पुरस्कार भुपु पाण्डेको (पिरैपिरः झट्ट हेर्दा हजुर जिन्दगी दामी छ...) सिर्जनालाई प्रदान गर्ने निर्णय भएको छ ।
यस्तै २०७९ को छिन्नलता गीत पुरस्कारको गीत रचनातर्फ भूषण खरेल, सङ्गीत रचनामा मनराजा नकर्मी र गायनमा शिव परियारलाई प्रदान गर्ने निर्णय भएको गुठीका सचिव दिनेश अधिकारीले बताए ।
सोही वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेलको (परेलीमा बसुँ कि कलेजीमा बसुँ गीत) सिर्जनालाई प्रदान गर्ने निर्णय भएको छ ।
२०७९ देखि छिन्नलता गीत पुरस्कारको राशि वृद्धि गरी एक लाख कायम गरिएको गुठीले जनाएको छ । छिन्नलता युवा प्रतिभा पुरस्कार ५० हजारसँगै सम्मानपत्र छ ।
ती पुरस्कार गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’को जन्मजयन्तीका अवसरमा आगामी हरिशयनी एकादशीका दिन साउन २ गते प्रदान गरिनेछ ।