काठमाडौं । जीवित देवी कुमारीमा आधारित नाटक अग्निचक्षु बुधबारदेखि मञ्चन सुरु भएको छ ।
नाटककार चन्द्रप्रसाद पाण्डेयद्धारा लिखत यो नाटक बुधबारदेखि काठमाडौंको बत्तीसपुतलीस्थीत शिल्पी थिएटरको गोठाले नाटक घरमा मञ्चन सुरु भएको हो ।
साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन भइरहेको नाटक हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।
संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू समेटेर नाटक तयार भएको लेखक चन्द्रप्रसाद पाण्डेय बताउँछन् ।
उनी भन्छन्, 'कला र संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति हो । यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । राज्य तथा नारी शक्ति पुञ्जको रूपमा कुमारीलाई सबैले मान्दै आएको परम्परा नेपालको धरोहर सम्पदा हो । गौतम बुद्धको जन्मथलो, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश अनि जीवित देवी कुमारी पुज्ने देशको रूपमा नेपाल विश्वमा परिचित छ, त्यसैले पनि संस्कृतिमाथि काम गर्ने क्रममा हामीले यस पटक यो विषयमा नाटक तयार पारेका हौँ ।'
त्यस्तै नाटकका परिकल्पनाकार तथा निर्देशक झकेन विसी कुमारीको ऐतिहासिक विषयवस्तुमाथि नाटक बनाउन पाउँदा आफू धेरै खुसी भएको बताउँछन् ।
नाटकमा कलाकारहरू मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापा मगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, एअरिका चौलागाई (बाल कलाकार) रहेका छन् ।
सङ्गीत परिकल्पना तथा संयोजन अनुप तिमिल्सिनाको रहेको छ भने अनुपसँगै प्रत्यक्ष सङ्गीतमा, पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति रहेका छन् । कोरियोग्राफी जे.डी.तमुको रहेको छ । नाटकको बजार व्यवसथापन चक्र प्रसाद पोखरेलले गरेका छन् भने किरण पराजुलीले सञ्चार संयोजन गरिरहेका छन् ।
नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ साढे ५ बजे र शनिबार १ बजे अतिरिक्त सो हुनेछ । नाटकको समयावधि करिब डेढ घण्टा रहेको छ ।