काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गए राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मूल्य घटाइएको निगमले जानकारी दिएको छ ।
निगमले शनिबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट पछिल्लो पटक पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ ।
सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाएको छ । सोही अनुसार मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।
मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५.५० रुपैयाँ र डिजेलको मूल्य १५०.५० रुपैयाँ कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ र डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ ।