काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव भएको बताएका छन् ।
बुधबार काठमाडौंमा सांस्कृतिक संस्थानको ५२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले संस्कृति समाज जागरणको शसक्त माध्यम भएको बताए । सांस्कृतिक रूपान्तरणसंगै समाज जागरणका लागि सरकारको ऐतिहासिक पृष्ठभूमि बोकेको एक मात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।
संस्कृतिलाई पर्यटनसँग जोडेर पर्यटन लक्षित कार्यक्रम उत्पादनतर्फ संस्थानले विशेष ध्यान केन्द्रित गरी राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव छ भन्ने कुरा प्रमाणित गर्दै आएको उनले बताए । संस्कृतिका माध्यमबाट सामाजिक रूपान्तरणका लागि जागरण अभियान र उत्पादनलाई विशेष जोड दिई रोजगार सहितको आर्थिक समृद्धिको मार्ग निर्माणमा संस्थानको महत्त्वपूर्ण भूमिका रहेको मन्त्री तामाङको भनाइ छ ।
नेपाल बहुल जातजातिको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकै कारण संस्कृतिबाटै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यानाकर्षण गरी मन्त्रालयले संस्कृतिको संरक्षण, संवर्द्धन, प्रबर्द्धन, दस्तावेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमकिताका साथ कार्यान्वयलाई जोड दिएको उनको भनाइ छ ।
संस्कृतिसम्बन्धी वकालत गर्ने प्रमुख निकाय सांस्कृतिक संस्थान भएकाले नेपाल र नेपालीको अस्तित्व एवम् पहिचानसँग जोडिएको संस्कृति जस्तो संवेदनशील विषयलाई संरक्षणतर्फ विशेष ध्यानाकर्षण गरी हरेक जातजातिका अमृत सांस्कृतिक सम्पदालाई दस्तावेजीकरण सहित विश्व सांस्कृतिक सम्पदामा सूचीकरणका लागि संस्थानको विशेष पहल अपरिहार्य रहेको उनको भनाइ छ ।
संस्कृतिलाई संस्थागत रूपमा अगाडि बढाउन २०१६ सालमा अवधारणा निर्माण गरी २०१८ सालमा राष्ट्रिय नाचघरको स्थापना भएको थियो । सञ्चार संस्थान ऐन, २०२८ अनुसार २०२९ साल असार ५ गते आधिकारिक रूपमा सांस्कृतिक संस्थानको रूपमा गठन गरिएको यस संस्थान नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सांस्कृतिक संस्थान हो ।