काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । शुक्रबार बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरिएको हो ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित समितिको आज बसेको बैठकले प्रक्रिया रद्द गरेको हो । बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए ।
आवेदन दिनेमध्ये छनौट समितिले ५ जनाको नाम सिफारिस गरेको थियो । समितिले ५ जनालाई आफ्नो व्यवसायिक कार्यपत्र प्रस्तुत गर्न बोलाउँदा दुई जना मात्रै उपस्थित भएका थिए ।
सर्टलिस्टमा परेका तीन जना अन्तर्वार्तामा अनुपस्थित भएपछि बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया नै रद्द भएको हो ।
अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस गर्नुपर्नेमा २ जना मात्रै कार्ययोजना तथा अन्तर्वार्ताका लागि सहभागी भएपछि समितिले यसअघि अनुपस्थित भएका ३ जनालाई कार्ययोजना प्रस्तुतीकरणका लागि पुनः बोलाएको थियो । दोस्रोपटक पनि ३ नै जना उपस्थित भएका थिएनन् ।
पहिलोपटक बोलाइएको कार्ययोजना तथा अन्तवार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका थिए । सर्टलिस्टमा परेका मध्य डा.नवराज अधिकारी,कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाई गरी ३ जनाले भने अन्तर्वार्ता बहिष्कार गरेका थिए ।
अन्तर्वार्तामा तीन जना अनुपस्थित भएपछि समितिले अध्यक्षमा नियुक्तिको सिफारिसका लाग महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो । महान्यायाधिवक्ताको कार्यालयले २ जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएको थियो ।
महान्यायाधिवक्ताको कार्यालयले पनि दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने र तीन जना अन्तर्वार्तामा उपस्थित नभएपछि छनोट समिति सकसमा परेको थियो । सोही कारण यो प्रक्रिया नै रद्द भएको हो ।