काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटको उपाधि जितेसँगै भारतीय कप्तान रोहित शर्मासहित स्टार ब्याटर विराट कोहली र अलराउन्डर रविन्द्र जडेजाले यो फर्म्याटबाट सन्यासको घोषणा गरे ।
टिमका तीन प्रमुख खेलाडीले सन्यासको घोषणा गरेपछि भारतमा ती खेलाडीहरूको स्थान कसले लिन्छ भन्ने बहस सुरु भएको छ । यसका साथै सफलतम कप्ताहरूमध्येका रोहित शर्माले पनि सन्यासको घोषणा गरेपछि अब टी २० अन्तर्राष्ट्रियमा भारतीय टिमको कमान कसले सम्हाल्छ भन्ने पनि बहस सुरु भएको छ ।
तीन खेलाडीले एकसाथ सन्यासको घोषणा गरेपछि उनीहरूको स्थान लिने खेलाडी चयन गर्न र उनीहरूलाई त्यस स्थानका लागि अब्बल बनाउन सहज भने छैन । यी खेलाडीहरूको योगदान यसरी पनि अनुमान गर्न सकिन्छ कि रोहित शर्मा १७ वर्षदेखि टिमको अभिन्न हिस्सा थिए । त्यस्तै विराट कोहली १५ र रविन्द्र जडेजा १५ वर्षदेखि प्रमुख खेलाडीका रूपमा रहेका थिए ।
यस्तो अवस्थामा यी तीन खेलाडी एकसाथ अलग हुँदा उक्त स्थानमा कसले दाबेदारी प्रस्तुत गर्ला भन्ने चासो धेरैको छ । भारतीय क्रिकेटको प्रशासनिक निकाय बीसीसीआईले त्यसमा कसलाई चयन गर्ला भन्ने पनि चासोको विषय छ ।
धेरैलाई के लाग्छ भने उक्त स्थानका लागि शुभमन गिल, यशस्वी जयसवाल तथा ऋतुराज गायकवाड प्रमुख दाबेदार हुन् । खेलाडी मात्र नभएर कप्तानको पनि स्थान रिक्त रहेकाले त्यसमा कसले स्थान पाउला भन्ने पनि चासो छ । कप्तानीको प्रतिस्पर्धा भने निकै रोचक हुने देखिन्छ ।
कप्तानका लागि शुभमन गिल, हार्दिक पाण्ड्या र ऋषभ पन्तबीच प्रतिस्पर्धा हुन सक्ने देखिएको बीबीसीले उल्लेख गरेको छ । यस्तै ऋतुराज गायकवाडको पनि दाबेदारी रहने कतिपयको विश्लेषण छ ।
पछिल्लो आईपीएलमा गिलले गुजरात टाइटन्सको कमान सम्हालेका थिए । त्यस्तै पन्तले दिल्ली क्यापिटल्स, पाण्ड्याले मुम्बई इन्डियन्स र गायकवाडले चेन्नई सुपर किङ्सको कमान सम्हालेका थिए ।
पाण्ड्या अहिले पनि भारतीय टिमका उपकप्तान हुन् । त्यसैले उनको दाबेदारी प्रमुख रहने बताइएको छ । तर, पन्तमाथि पनि धेरैले नजल लगाएका छन् । यस्तोमा जिम्बावे टुरका लागि भारतले गिललाई टिमको कमान सुम्पिएको छ । जसले गर्दा भावी कप्तानमा उनको पनि सम्भावना रहेको कतिपयको बुझाइ छ ।
तर युवा गिललाई कप्तानीको जिम्मेवारी दिएर लामो यात्राका लागि टिमलाई तयार पार्न सक्ने पनि कतिपयले विश्लेषण गरेका छन् ।