काठमाडौं । एसीसी महिला टी २० मा नेपालले ऐतिहासिक जित निकालेको छ । यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो ।
एसिया कपमा नेपालको यो पहिलो जित हो । नेपालले यसअघि दुई संस्करण खेलेको छ । तर पनि जित निकाल्न भने सकेको थिएन ।
तर, नवौँ संस्करणमा यूएईलाई पराजित गर्दै नेपालले जितको खडेरी अन्त्य गरेको हो ।
सुरुवाती ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ११५ रन जोड्दै नेपाललाई जितका लागि ११६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्दै ऐतिहासिक जित निकालेको हो ।
नेपालको जितमा ओपनर सम्झना उत्कृष्ट ब्याटिङ गरिन् । उनले ४५ बलमा ११ चौकासहित नटआउट ७२ रनको इनिङ खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सम्झनाको यो करियरकै उत्कृष्ट पारी हो ।
यस्तै, रुबिना क्षेत्रीले ८ बलमा एक चौकासहित १० रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
यूएईका लागि कविशा इगोडाजेले ४ ओभरमा एक मेडनसहित १२ रन दिएर सर्वाधिक तीन विकेट लिइन् ।
त्यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।
यूएईका लागि खुसी शर्माले ३९ बलमा दुई चौकासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै, कविशा इगोडाजेले २२, समाइरा धरनिधर्कले १३ र कप्तान ईशा ओझाले १० रन जोडे । नेपालका लागि कप्तान इन्दु वर्माले उत्कृष्ट बलिङ गरिन् ।
उनले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । यस्तै, कविता जोशी, कृतिका मरासिनी र सबनम राईको नाममा एक/एक विकेट रह्यो । यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अंक जोडेको छ ।