डा. मुकुल ढकाल
वैशाख ४, २०८१ मा पार्टीका संगठन विभाग सचिव शङ्कर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई वाट्सएप गर्नुहुन्छ । साथै, उहाँले पार्टीका एक जना पालिका सभापतिसँग आफूले गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाउनु हुन्छ । टेलिफोन संवादअनुसार पालिका सभापतिकहाँ पत्रमा उल्लेख गरिएकी एक जना महिला, आफूलाई पीडित भन्दै उहाँसँग सम्पर्कमा आउनु हुन्छ । पीडितका अनुसार १ वर्षअगाडि उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो, र अमेरिका भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी थिइन् ।
घटनाको खबर प्राप्त गर्ने बितिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने, पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र पार्टी सहकोषाध्यक्ष एवं गृह मन्त्रालयमा गृहमन्त्रीको सचिवालय संयोजकका रूपमा काम गरिरहेका दिपक बोहोरासम्म कुरा पुर्याएँ र गृह मन्त्रालयबाट उल्लेखित ५ जना विदेश उडेको नउडेको अध्यागमनबाट हेर्न आग्रह गरे ।
भोलिपल्ट राम नवमी परेकाले पर्सी पल्ट कोही पनि विदेश नउडेको खबर प्राप्त गरेँ ।
घटनाका बारेमा सिधै उपसभामुखबाट बुझ्नपर्छ भन्ठानी, मैले उपसभामुखसँग सम्पर्क गरेँ र उहाँले शुरूमा पत्रका बारेमा जानकार नरहेको बताउनुभयो तर अलिकति केरकार गरेपछि उहाँले उपेन्द्र भन्ने भाइ पार्टीकै मान्छे भएको, उसलाई मात्र चिनेको, अरूलाई नचिनेको बताउनुभयो र उपेन्द्रले भनेअनुसार पत्रमा हस्ताक्षर गरेको बताउनु भयो ।
९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछी पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।
"नचिनेको मान्छे भन्न पाइन्छ ?", "त्यसरी हस्ताक्षर गर्न मिल्छ ?" भनेर उपसभामुखलाई मैले प्रश्न गरेँ र उहाँले "थाहा भएन" भन्ने सामान्य उत्तर दिनुभयो । "थाहा छैन भन्न पाइन्छ ?" भनेर मैले प्रश्न गरिरहे, तर उहाँले "थाहा छैन" को रटान लगाइरहनुभयो ।
त्यसपछि, अब आइन्दा त्यसरी कसैको हस्ताक्षर नगर्नु र ती ५ जना पार्टी कार्यलयमा यथासक्य छिटो उपस्थित गराउनु भनेर पार्टी महामन्त्रीको रूपमा निर्देशन दिएँ ।
त्यतिबेला उहाँले महेश पाण्डे भन्ने व्यक्तिलाई ती को हुन् भन्ने थाहा छ र उहाँलाई सम्पर्क गर्न बताउनुभयो तर मैले अन्य व्यक्तिसँग सम्पर्क नगर्ने र तपाईंले नै ती व्यक्ति पार्टी कार्यलयमा उपस्थित गराउनु भने ।
उपसभामुखको मात्र होइन, "थाहा छैन" भन्ने रोग पार्टीमा संक्रमण रोग जसरी फैलिएको छ जुन कुरा मैले समीक्षा प्रतिवेदनमा पनि उल्लेख गरेको छु । भविष्यमा, यस्ता "थाहा छैन" प्रकरण थप खुल्दै जाने नै छन् किनभने, सत्यलाई केही दिन लुकाउन सकिएला, सधैँ लुकाउन सकिन्न ।
"थाहा छैन" भन्ने जवाफले पार्टी महामन्त्रीको रूपमा मलाई पारेको दवावकै कारण मैले समीक्षा यात्रा पनि "थाहा अभियान" का अभियान्ता रूप चन्द्र विष्ट 'रूदाने' को गाउँ "थाहा नगरपालिका" बाट शुरू गरे ।
उपसभामुखलाई त्यसरी ती ५ जना उपस्थित गराउने निर्देशन दिएपछि, इलामको उपचुनाव आयो । चुनावको नतिजापछि पार्टी सचिवालय बैठक बस्यो र बैठकले मलाई समीक्षा यात्रामा पठाउने निर्णय गर्यो । त्यसपछिका घटनाक्रम आम जनतामाझ आइसकेको छ ।
उपसभामुखको पत्र र मानव तस्करी जस्तो जघन्य अपराध जोडिएको यो विषयमा पार्टीका सीमित व्यक्तिको जानकारीमा मैले अनुसन्धान गरिरहेको थिएँ तर समयचक्रमा घटनाक्रम यसरी विकसित भएकी अनुसन्धानभन्दा के कति विषयमा म ओझेलमा परेँ, सम्भवत सबैको जानकारीमा आएकै विषय हो । महिना दिन बित्दा पनि उपसभामुखले ती ५ जना दिइएको निर्देशन अनुसार पार्टी कार्यलयमा उपस्थित गराउनुभएन र उपस्थित नगराएका कारण थप कदम चाल्नुपर्ने हुन्थ्यो, जुन अवस्थामा म रहिन र जानकारमध्ये अन्य कसैले चासो दिएन ।
उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई "तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो" बताइन् ।
९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछी पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।
विगतको छवि उच्च रहे पनि, छानबिनका लागि तयार हुन नपर्ने केही कारण नै छैन । उपसभामुखले तत्काल पदबाट राजीनामा दिइ, आफूमाथि छानबिनका लागि स्वयं तयार हुनपर्छ ।
हालसालै घटना सार्वजनिक भएपछि, रवि लामिछाने क्लबले मिथ्या र भ्रम छर्न पार्टीको लेटरहेड दुरूपोयग गर्यो । लेटरहेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नु अघि , तत्कालीन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि मलाई के भएको हो भनेर सोधखोज गरिनुपर्थ्यो तर मलाई रवि लामिछाने क्लवले सामान्य सोधपुछ समेत गरेन ।
यसको मतलब क्लब विषयको गाम्भिर्यतालाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो ।
उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानबिन हुनपर्छ । मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु, आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न । अझै पनि, ती ५ जनालाई खोजी गरी तीनिहरू महिला अधिकारका क्षेत्रमा राजनीतिक, सामाजिक, कानुनी वा कुनै पनि आधारमा विगतमा महिला अधिकारका क्षेत्रमा काम गरेका व्यक्ति हुन् वा होइनन्, सजिलैसँग पत्ता लाग्ने विषय हो ।
यहाँ गाह्रो भनेको, ती ५ जना खोज्नु हो । राज्यले अनुसन्धान गर्ने हो भने, ती ५ जनाकै वतन पत्ता लगाउनु ठूलो विषय होइन । राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाएँ, मसँग रहेका प्रमाण बुझाउन तयार छु, मलाई थाहा भएका सबै कुरा बताउन तयार छु ।
उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नै पर्छ । यसो भन्दै गर्दा, हामीले यो पनि बिर्सन हुन्न कि, हामी त्यो समाजमा बस्छौँ, जुन समाजमा कुनै दिन माता सिताले पनि सहजै अग्नी परीक्षा दिन तयार हुनुभएको थियो ।
विगतको छवि उच्च रहे पनि, छानबिनका लागि तयार हुन नपर्ने केही कारण नै छैन । उपसभामुखले तत्काल पदबाट राजीनामा दिइ, आफूमाथि छानबिनका लागि स्वयं तयार हुनपर्छ । छानबिनका लागि तयार भएर नैतिकताको खडेरी देखिएको नेपाली राजनीतिमा नैतिकताको उदाहरण पेश गर्न सक्नुपर्छ ।
छानबिनले उहाँ दोषी हो, होइन वा उहाँको सचिवालयले उहाँको जानकारीबिना यसरी मानव तस्करीमा लागेको हो की ? सबै पत्ता लागीहाल्छ । तर आफ्नो विगतको प्रतिष्ठाका खातिर, र आगामी दिनमा पनि नेपाली राजनीतिलाई नैतिकताको पाठ सिकाउन भए पनि आफूमाथि आफैँ छानबिनको माग गर्दै राजीनामा दिनपर्छ ।
यसै पनि, त्यो पदमा बसेर जनताको जीवनसँग जोडिने गरि के नै काम गर्न सकिन्छ र ? वा गरिएको छ र ? त्यो पदले गर्न सक्ने भनेको नेपालीको इज्जत, प्रतिष्ठा र मर्यादालाई उचो बनाउनु हो, जुन राजीनामा दिएर गर्न सकिन्छ, नकी पदमा बसेर ।
फेसबुकबाट