काठमाडौं । कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाल सरकारको निजामती सेवाअन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर खतिवडाले प्रेम वियोगलाई समेटेर ‘प्रेम कहानी’ बोलको आफ्नो रचनाको पाँचौँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।
गायक तथा संगीतकार सबिन लिम्बुको स्वर तथा संगीत रहेको यो गीत एकोस्टिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतको शब्दमा माया, प्रेमको तिर्सना, छटपटी र प्रेम वियोगलाई समेटिको छ ।
एफोरए ईन्टरटेनमेन्ट युट्युब च्यानलबाट हालै भिडियो सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोको निर्देशन तथा सम्पादन युवाराज खत्रीले गरेका हुन् भने छायाङ्कन सुजन श्रेष्ठले गरेका छन् ।
उक्त म्युजिक भिडियोमा कलाकार मुक्ति उप्रेती र सीया क्षेत्रीको अभिनय रहेको छ । सो म्युजिक भिडियोलाई बजारमा ल्याउन महत्त्वपूर्ण भूमिका आयुब केसीको रहेको गीतकार खतिवडाले बताए ।
आफ्नो अन्य गीतहरूको तुलनामा ‘प्रेम कहानी’को म्युजिक भिडियो उत्कृष्ट बनेको खतिवडाले बताए । आफ्नो रचनाहरूमध्ये उत्कृष्ट लागेको यो गीत सर्वाधिक रुचाइने दाबी समेत उनको छ ।
स्मरण रहोस्, उत्कृष्ट कविता, गीत तथा गजल लेखनमा कृयाशिल गीतकार ई. खतिवडा हालै भएको निजामती कर्मचारी संगठनको गजल प्रतियोगितामा समेत दोस्रो भएका थिए ।